बिर्तामोड, भदौ १० । केही वर्षअघिसम्म बिर्तामोड ३ सैनिकमोडका रंगलाल राजवंशी (भीम) त्यस क्षेत्रकै धनीमानी मानिन्थे । किनकि उनको जतिको मूल्यवान धेरै जग्गा कसैको थिएन । लाखौ रुपैयाँ धुर पर्ने ठाउँमा रंगलालको ६ विघा जग्गा रहेको थियो । ६ बिघामध्ये रेलमार्गले दुई विघा लाने भएपछि उनको सर्वनाश भएको हो ।

रेलप्रभावित रंगलाल र रेलमार्गले लान लागेको उनको जग्गा

पाँच छोरा र दुई छोरीका पिता रंगलालले दुखले सो पुख्र्यौली सम्पति जोगाएर राखेका थिए । छिमेकीहरुले ठूलठूला महल ठट्याउँदा समेत प्रशस्त जग्गाजमिन भएका देउनिया भएर पनि उनी निकै वर्ष झुपडीमै बसे । तर, परिश्रमको त्यो धन रेलमार्गले स्वाहा पारिदियो ।‘एक गिलास पानी खाएर मैले त्यो जग्गा जोगाएर राखेको थिएँ ’ ७४ वर्षिय रंगलाल दुख मान्दै भन्छन्‘ आफू र आफ्ना शाखा सन्तानका लागि राखेको सम्पति सुखभोग गर्न पाइनँ ।’
रंगलालको ६ विघामध्ये २ विघाजति जग्गा र एउटा घर रेलमार्गमा पर्ने देखिएको छ । रेलमार्ग आउने त्रासले रंगलालको जग्गाजमिन छिन्नभिन्न भएको छ । रेलमार्ग आउने हल्लाकै भरमा विनाखाँचो लहैलहैमा लागेर राजवंशी परिवारले केही जग्गा सस्तैमा बिक्री गरिसकेका छन् । आफ्ना पाँच छोरालाई उनले त्यस जग्गा अंशको रुपमा दिएका थिए । प्रत्येक छोराले साढे १३ कठ्ठाको दरले अंश पाएका थिए । त्यसमध्ये दुईजनाले सस्तोमा जग्गा बिक्री गरिसके । रेलमार्गले अधिग्रहण गर्दा क्षतिपूर्ति थोरै पाइने भन्दै जग्गा व्यापारीले छोराहरुको जग्गा सस्तैमा खरिद गरेको रंगलाल बताउँछन् । ‘धुरको ४–५ लाख रुपैयाँ पर्ने जग्गा छोराहरुले डेढ लाखको दरले बेचिसके’ उनी भन्छन्‘ रेलले मेरो परिवार तहसनहस पारिसक्यो ।’ आफूहरुले विनाखाँचो रेलको त्रासका कारण सो जग्गा बेच्नु परेको उनको गुनासो छ । विगतमा सैनिकमोड क्षेत्रमा राजवंशीहरुकै वर्चस्व रहेको थियो । बढ्दो शहरीकरणसँगै एकपछि अर्को गर्दै राजवंशी देउनियाहरु नासिदै गए । अधिकांश राजवंशीहरु सुकुम्बासी बन्न पुगेको अबस्थामा रंगलालले भने मुश्किलले त्यो जग्गा जोगाएर राखेका थिए । आखिर उनको पनि जग्गाजमिन त्यसरी नै सिद्धिने भयो ।
‘ राजवंशीहरुले खाएर मात्र जग्गाजमिन सकेका होइनन्’ बृद्ध रंगलाल भन्छन्‘ यस्तै झमेलाहरुले चारैतिरबाट गाँजिदिएपछि हामी सोझासीधाहरुको के उपाय लाग्छ र ?’ पहिला सुखसयल भोगेका राजवंशीहरुलाई अब भने दुख लेखेको भन्दै उनी भाग्यलाई सराप्छन् । बिक्री गरेको बाहेक रेलमार्गमा पर्ने जग्गाको क्षतिपूर्तिका लागि उनले पनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ‘चलनचल्तीको मूल्य अनुसार क्षतिपूर्ति पाउनु पर्छ ’ उनको माग छ ।
पूर्व–पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी ठेक्का लागिसकेको छ । रेलमार्गले झापामा २ हजार २ वटा कित्ताको ३३७ बिघा जग्गा अधिग्रहण गर्ने भएको छ । रेलमार्गका कारण उठिबास लाग्ने खतरा भएको भन्दै रेलमार्ग प्रभावितहरुले आन्दोलन जारी राखेका छन् । उनीहरुले रेलमार्ग निर्माण गर्दा चलनचल्तीको मूल्यमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर आन्दोलन अघि बढाएका हुन् । रेलमार्गका कारण धेरैजना विस्थापित हुने भएकाले उनीहरूले पाउने मुआब्जा, क्षतिपूर्तिको बारेमा पहिले नै स्पष्ट गर्नुपर्ने तथा पुनर्वासको सुनिश्चितता हुनुपर्ने माग प्रभावितहरुको रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्