मनिषा चम्लागाईँ/झापा। झापाको धुलाबारीमा पाँचतारे ‘होटल मेची क्राउन’ निर्माण सम्पन्न भएको छ । भारतीय पर्यटकलाई मध्यनजर गर्दै पूर्वी नेपालमा खोलिएको पहिलो पाँचतारे होटलको निर्माण सम्पन्न भएको हो । कोरोना महामारीको अन्त्यसँगै होटल सञ्चालनमा ल्याउन सकिने होटल व्यवस्थापनले जनाएको छ । सरकारले होटल सञ्चालनको अनुमति दिएसँगै होटल सञ्चालनमा ल्याउने सञ्चालक बलराम सापकोटाले जनाए । “अहिले पनि आउने ग्राहकलाई सेवा दिइरहेका छौँ” सापकोटाले भने ।

गत वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको होटल कोरोना महामारीका कारण निर्माणमा ढिलाई भएको हो । झापाको मेचीनगर नगरपालिकामा भेगास सिटी इन्टरटेनमेन्टले सञ्चालनमा ल्याउन लागेको मेची क्राउन होटेल कोरोना कहरका कारण निर्माण कार्य सम्पन्न नहुँदा वैशाखदेखि सञ्चालनमा आउन सकेन ।
“हामीले वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने योजना बनाएका थियौँ” सञ्चालक सापकोटाले भने, “चैत २७ गतेदेखि नै बुकिङ् शुरु भएको थियो, भाइरसको कारण सबै स्थगित भयो ।” अहिले होटल निर्माण कार्य सकिएको छ । पूर्वको मुख्य नाका काँकडभिट्टा र पर्यटनको राम्रो सम्भावना देखेर नै होटेल बनाइएको सञ्चालक बताउँछन् । पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दुरीमा रहे पनि सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दार्जिलिङ, सिक्किम लगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरु सुविधासम्पन्न होटलको खोजीमा थिए” सापकोटाले भने, “यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको रोजाइमा मेची क्राउन पर्ने छ ।”


भारतीय सीमाबाट नजिक भएकाले सीमा पारिबाट आउने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आउन लागेको हो । भारतको बागडोग्रा विमानस्थल र झापाको चन्द्रगढी विमानस्थलबाट नजिक रहेको हुँदा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटक यहाँ आउने उनको विश्वास छ । डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको मेची क्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी ‘दी पिक हस्पिटालिटी’ले लिएको छ । होटलको आर्किटेक्ट इन्जिनियर शैलेन्द्र बिसी र घनश्याम उप्रेतीले गरेका हुन् ।

कस्तो बनेको छ होटल
आठ बिघा बढी जमिनमा निर्मित होटलको मुख्य भवन चारतले रहेको छ । ९ वटा ब्लक, पाँचवटा भिल्ला रहेको होटलमा १ सय ५ कोठा रहेका छन् । होटलमा पाँचवटा प्रेसिडेन्टल स्विट रुम, ३० वटा डिलक्स र बाँकी ७० वटा नर्मल डिलक्स रुम छन् । होटलमा हेलिप्याड, तीनवटा रेस्टुरेन्ट, पर्याप्त मात्रामा पार्किङ, स्विमिङ पुल, जिमहल, स्पा, साउना, पार्लरसहित सुविधा छ ।


होटलमा तीन हजार क्षमताको ठूलो व्याङक्वेट हलसहित तीनवटा सेमिनार हल छन् । होटलमा पार्टी, सभा समारोह गर्न १५ सय क्षमता, ५ सय क्षमता र अर्को त्यसभन्दा सानो बैठक, समारोह हल तथा सभाहल निर्माण भइसकेको छ । होटल सञ्चालनमा आएपछि यसले करिब सात सय जनालाई रोजगारी दिने पनि उल्लेख छ । होटलमा नेपालीकै लगानी रहेकाले संरचना अत्याधुनिक हुने भए पनि हरेक कोठामा स्थानीय जनजातिको पहिचान झल्किने गरी निर्माण भइरहेको बताइन्छ । होटलमा व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, राजकुमार बस्नेत, जयराम अर्याल लगायतको सामूहिक लगानी रहेको छ ।


होटल मेची क्राउन सञ्चालनमा आएसँगै क्यासिनो पनि सञ्चालनमा आउने छ । होटलमा चर्चित भारतीय ब्रान्ड गोल्डेन क्यासिनो ग्रुपको प्रवेश भएको छ । होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन ग्रुपले सञ्चालन गर्नेछ । क्यासिनो सञ्चालन गर्ने विषयमा होटल र क्यासिनो सञ्चालक समूहबीच सहमति भइसकेको छ । पूर्वमा क्यासिनो पर्यटनको सम्भावना रहेकाले क्यासिनो सञ्चालनमा ल्याइएको सापकोटा बताउँछन् । सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्