झापा , भदौ १२ । प्रदेश १ मा आज झापाका १४ सहित ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सुनसरीमा ४१ जना रहेका छन् भने मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष छन् भने कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यता, झापाको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष र शिवसताक्षीमा १ महिलामा संक्रमण देखिएको छ ।
यसैगरी मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । संखुवासभाको पाँचखपनमा १ पुरुष र खाँदबारीमा १ महिलामा संक्रमण पुष्टि भएको छ भने पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ भने मृत्यु हुनेको संख्या २७ पुगेको छ । ती मध्ये प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्