शान्तिराम बस्नेत,

शिवसताक्षी , भदौ १२ । झापा शिवसताक्षीको एक चौकको नाम कुलमान घिसिङ चौक नामाकरण गरिएको भेटिएको छ ।

चौकमा राखिएको बोर्ड

करीब २ वर्ष अगाडि नै उक्त चौकको नाम कुलमान घिसिङ चौक राखिए पनि त्यसले खासै महत्व राखेको थिएन । तर, हाल आएर कुलमान घिसिङको कार्यकाल सकिदैं जाँदा सामाजिक सञ्जालमा उक्त चौकको नामको चर्चा हुन थालेको छ । कुलमान घिसिङलाई नै सोही पदमा निरन्तर राखिनु पर्छ भन्ने सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको अवस्थामा उक्त चौकको नामले चर्चा पाएको हो ।
शिवसताक्षी १० टेक्राको उक्त गाउँमा बिजुली बत्ती पुगेपनि त्यहाँका बासिन्दाहरुलाई बारम्बार समस्या सिर्जना हुने गरेको थियो । स्थानीय अगुवाहरुको सक्रियतामा त्यस क्षेत्रमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले ट्रान्सफर्मर राखिदिने व्यवस्था गरिदिएपछि उनको सम्मानमा चौकको नाम राखिएको हो ।

जडान गरिएको ट्रान्समिटर

घिसिङसमक्ष समस्या पुगेपछि उनले सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत करीब २२ लाख रुपैयाँको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गर्ने प्रतिवद्धता जाहेर गरेको ६ महिना नपुग्दै बिजुली पुगेको र स्थानीयहरुले घिसिङकै कारण बस्तीले मुहार फेरेको भन्दै सम्मानस्वरुप कुलमान घिसिङ चौक राखिएको स्थानीय दिनेश रिमालले बताए ।
स्थानीय डिल्लीराम शिवाकोटीका अनुसार घिसिङले उनीहरुको समस्यालाई नसुनिदिएको भए त्यहाँका कृषकहरुले आकाशे खेतीको भरमा बाँच्नुपर्ने अवस्था आउँथ्यो । लहलह धानका वाली देखाउँदैं शिवाकोटीले भने, ‘ आफ्नो पदभन्दा आमकृषकहरुको मन जित्न उहाँ सफल हुुनुभयो । भनेकै समयमा विद्युतीय मिटरबाट भनेजति सिंचाई गर्न पाएका छौं, योभन्दा खुशीको खबर हामीलाई के होला । माथिल्लो निकायमा कृषकहरुको पनि मन राखिदिने व्यक्ति हुँदारहेछन् । पहिले झुक्किएर लाइन आँउथ्यो हाल त्यस्तो अवस्था छैन । उनको कार्यकाल थपिए कृषकहरुले कृषिमा अझ राहत पाउने थियौ ।’
शिवसताक्षी १० र कनकाई नगरपालिका ४ को बीचमा अवस्थित उक्त गाउँमा करीब २ सय घरधुरी रहेका छन् ।
शिवसताक्षी नगरपालिकाको टापुको रुपमा रहेको टेक्रा गाउँलाई कनकाईले हेपेको र शिवसताक्षीले नदेखेको गाउँ भनिन्छ । सो गाउँ शिवसताक्षी १० को कनकाई नदी पारिपट्टी अवस्थित छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्