बिर्तामोड, भदौ १२ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

भवन निर्माण अनुगमन समितिले आज बिर्तामोड नगरपालिका, ३ नं. वडा कार्यालय र ठेकेदार कम्पनीलाई ज्ञापनपत्र बुझाउदै निर्माणाधीन अस्पतालको काम गुणस्तरहीन हुन नदिन लिखित आग्रह गरेको हो । पर्शुराम सिटौलाको अध्यक्षतामा आज बसेको अनुगमन समितिको बैठकले अस्पतालको फाउण्डेसन निर्माणलाई बलियो बनाउन ज्ञापनपत्रमार्फत लिखित आग्रह गर्ने निर्णय गरेको थियो । अनुगमन टोलीले आजै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडा र इन्जिनियर गणेश अर्याल, ३ नम्बर वडाका सचिव भीम अधिकारी तथा ठेकेदार कम्पनीकातर्फबाट साइडमा खटिएका इन्जिनियरलाई ज्ञापनपत्र बुझाएको अनुगमन समितिका सदस्य एवं सञ्चारकर्मी अर्जुन राजवंशीले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै प्रशासकीय अधिकृत खतिवडाले तत्काल ठेकेदार कम्पनीसंग छलफल गरेर नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय र बलियो बनाउन जुट्ने आश्वासन दिए । अनारमनी स्वास्थ्य चौकीको हाताभित्र २५ बेडको बिर्तामोड नगर अस्पताल निर्माण सुरु भएको छ । बिर्तामोड नगरपालिकाको लगानीमा काठमाण्डौंको धुलिखेल निर्माण सेवा प्रा.लि.ले मूल्य अभिवृद्धि कर बाहेक ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयाँमा नगर अस्पताल निर्माणको ठेक्का पाएको छ । गत असार ८ गते ठेक्का सम्झौता भएको अस्पताल भवनको काम ०७९ असार १ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्