बिर्तामोड , भदौ १३ । बिर्तामोड ३ आदर्श चौकका चन्द्रप्रसाद र विष्णुमायाको बुढेसकालको एक्लो सहारा छोरा पुष्पकुमार हराएको १४ वर्ष भइसक्यो । २०६४ भदौ २२ गतेदेखि एकाएक बेपत्ता भएका छोरा पुष्पकुमारलाई ६६ वर्षिय बुबा चन्द्रप्रसाद र ५७ वर्षिया विष्णुमाया नखोजेको ठाउँ छैन । तर, उनी कही पनि भेटिएका छैनन् ।

हराएका पुष्पकुमार र चिन्तामा उनका अभिभावक

केही नभनी घरबाट हिडेका ३९ वर्षिय पुष्पकुमारको कुनै अत्तोपत्तो छैन । हराएदेखि खोजी गरिरहेका ती बृद्ध बाबुआमाले छोराको सुइको समेत पाएका छैनन् । छोरा खोजी दिनका लागि उनीहरुले क—कसलाई गुहारेनन् , प्रहरीदेखि लिएर सीधा कुरा जनतासँग चलाउने रवि लामिछानेलाई पनि गएर भने । तर ,अझै भेटिएको छैन । शुक्रबार उप्रेतीको घरमा पुग्दा दुवै बृद्ध आमाबुबा छोराकै सुर्ता गरिरहेका थिए । ‘ हामीलाई आश छ छोरा एकदिन पक्कै फर्केर आउँछन् ’ आमा विष्णुमायाले विलौना गर्दै भनिन् । बिर्तामोड— भद्रपुर रुटमा बस संचालन गर्दै आएका पुष्पकुमार घरबाट काममा जान्छु भनी हिडेकोमा फर्केर आएनन् । उनीहरुले छोराको लागि नातागोता आफन्त सबैकहाँ सोधिसके , खोजीसके । घरबाट काठमाडौं गएको पत्ता लागेपनि त्यसपछि अत्तोपत्तो नभएको विष्ण्ुमायाले बताइन् । ‘ घरबाट गएर काठमाडौैमा भान्जासँग बसेका थिए ’उनले भनिन् ‘ त्यहाँ १०—१२ दिन बसेर हिडेपछि एकाएक गायब भए ।’ पुष्पकुमारले पासपोर्ट पनि त्यही छोडेकाले विदेश जाने संभावना पनि नरहेको बाबु चन्द्रप्रसादले बताए । पुष्पकुमार ३ वर्ष मलेसिया बसेर फर्केका थिए । फेरि विदेश गए कि भन्ने आशंकामा श्रम मन्त्रालयमा गएर बुझ्दा विदेश गएको रेकर्ड नदेखिएको चन्द्रप्रसादले जनाए । चन्द्रप्रसादका एक छोरा र दुई छोरी रहेका छन् । छोरीहरुको विवाह भइसक्यो । एक्लो छोरा पनि साथमा नहुँदा बुद्ध आमाबुबालाई बुढेसकालमा समस्या भएको छ । उनीहरुलाई हेरचाह गर्ने कोही छैनन् । छोरा फर्कने र फर्काइदिने आशमा बसेका छन् ती अभिभावकहरु । उनीहरुले आफ्नो छोरालाई फेला पार्नेलाई नजिकको प्रहरी चौकी वा ९८२४०७०४०६ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
एउटै टोलबाट ५ बेपत्ता
चन्द्रप्रसादका छोरा मात्र होइनन् , त्यस टोलबाट अन्य ४ जना पनि बेपत्ता भएको वर्षौ भइसक्यो । शिवलाल आचार्यका काइला छोरा , खड्गप्रसाद सिटौलाका एक्लो छोरा , बेलासिंह राजवंशीकी कान्छी छोरी र सुकुरचन राजवंशीकी जेठी छोरी हराएको निकै भएको छ । अभिभावकहरुले खोजी गरिरहेपनि वर्षौअघि हराएका उनीहरु नभेटिएको स्थानीय कृष्णबहादुर दाहालले बताए । तीमध्ये कसैले पनि प्रहरीलाई जानकारी नगराएको दाहालले बताए ।

जिल्लामा हराउनेहरुको तथ्यांक

हराउने सँख्या बढ्दै
झापामा हराउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रहरीमा परेका निवेदनलाई हेर्ने हो भने हराउनेहरुको सँख्या वर्षेनि थपिदै गएको हो । यद्यपि हराउने धेरैजनाको निवेदन प्रहरीकहाँ परेको देखिदैन । हराउनेमा सबैभन्दा बढी महिला रहेका छन् । आर्थिक वर्ष २०७४–०७५ देखि आव २०७६–०७७ सम्मको तीन वर्षको अवधिमा झापाबाट १ हजार ७९४ जना हराएका थिए । त्यसमध्ये १ हजार १०८ जना फेला परेका छन् भने ५७७ जना अझै बेपत्ता छन् । आव २०७४–०७५ मा ५५८ , २०७५–०७६ मा ५७७ र २०७६–०७७ मा ६५९ जना हराएका थिए । त्यसमध्ये आव २०७४–०७५ मा ३९६ , २०७५–०७६ मा ३४१ र २०७६–०७७ मा ४७१ जना फेला परेका छन् । त्यस्तै आव २०७४–०७५ का १५३ , २०७५–०७६ का २३६ र २०७६–०७७ का १८८ गरी ५७७ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याँकले देखाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्