झापा , भदौ १५ । उमेरले ९६ वर्ष पुगेकी बिर्तामोड ९ की देवीमाया खड्का कम्युनिष्ट आन्दोलनकी जिउँदो साक्षी हुन् । सर्वहारा वर्गको लागि भन्दै राजनीति थालेर अहिले शासन सत्ताको सुखसयलमा पुगेका प्रायः सबै कम्युनिष्ट नेताहरुको नालीबेली उनलाई थाहा छ ।

बृद्धा देवीमाया

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सिपी मैनालीसम्मका नेताहरुको धरातलबारे संझना छ झापा विद्रोहकी ती भुक्तभोगीलाई । देवीमाया २०२८ सालको झापा विद्रोहको उद्गमथलो साविक गरामनी ८ नरियाबारी निबासी र कम्युनिष्ट नेता हर्क खड्काकी आमा हुन् । त्योभन्दा पनि कम्युनिष्ट आन्दोलनलाई शुरुवात गर्न हौसला दिने एकजना साहसिक आमाको योगदान उनले दिएकी हुन् । कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरुको विगतबारे कोट्याउँदा उनी सबैको वृतान्त बताउन सक्छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ती बृद्धालाई संझन नसकेका होलान् । तर, उनलाई ओलीका बारेमा राम्रो संझना छ । ‘ खड्गप्रसाद बेला बेलामा हाम्रो घर आइरहनु हुन्थ्यो’ उनी संझदै भन्छिन् ,‘ प्रायगरी राति आउनु हुन्थ्यो ।’ खड्गप्रसाद दुईजना केटी साथी लिएर आफ्नो घरमा आउने गरेको देवीमाया बताउँछिन् । ‘संगठन निर्माण र राजनीतिक भेटघाट आउने कुन केटा कुन केटी छुट्याउनै गाह्रो पथ्र्यो ’ उनले भनिन् । त्यस्तै नेकपा मालेका नेता एवं पूर्वमन्त्री सीपी मैनालीका बारेमा बृद्धा देवीमाया भन्छिन्,‘ मलाई भाउजु भन्नुहुने उहाँ आइरहनु हुन्थ्यो । ’ पछि सीपीले आफ्नै चेली सीता खड्कासँग विवाह गरेको उनले बताइन् । झापा विद्रोहमा शहादत प्राप्त गरेका नेत्र घिमिरे, नारायण श्रेष्ठ , रामनाथ दाहालले पनि आफ्नो घरमा लामै सेल्टर लिएको उनले सुनाइन् । २०२८ सालताका देवीमायाको घर कम्युनिष्टहरुको पाठशाला र सेल्टरको रुपमा रहेको थियो । आफ्ना छोरा र उनका साथीहरुलाई खाना पकाएर खुवाउने , लुगा धोइदिने , प्रहरीबाट लुकाउनेजस्ता सहयोग गर्दा नै पार्टीको दर्शन र विचारलाई कम्युनिष्टहरुले जनतामाझ छर्न सफल बने । वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । पञ्चायती निरंकुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो । सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ । झापा विद्रोहका क्रममा देवीमायाका जेठा छोरा हर्कसहित माइला छोरा दिलबहादुर , साइला छोरा बलबहादुर , छोरीहरु रीता , निर्मला , नैना जेल जानु पर्यो । अरु छिट्टै जेलमुक्त भएपनि हर्कलाई जन्मकैद तोकियो । हर्ककै नेतृत्वमा राजनीतिक वन्दीहरु नख्खु जेल तोडेर निस्किन सफल भएका थिए ।

घरमा बुहारीसँग देवीमाया

नरियाबारीमा आफ्ना छोरा हर्कसहितलाई पक्राउ गरेको र चन्द्र डाँगीलाई गोली हानेर मारेको दिन आफू अर्काको घरमा रहेको उनले बताइन् । आफ्नो पुरै परिवारसहित पुरै गाउँ नै कम्युनिष्ट आन्दोलनका लागि लागेर अहिले पार्टी र सरकारले नसंझिदा उनलाई दुख लाग्छ । ‘उहिलेका कम्युनिष्टको धर्म थियो अहिलेकाले छोडिसके’ उनी भन्छिन् ,‘ अहिलेका कम्युनिष्टहरु लुटेरा हुन् ।’ आफ्नो परिवारलाई जेलनेल भोगाएर अहिले सत्ताको मोजमस्ती गर्नेहरुप्रति उनी आक्रोशित देखिएकी छन् । ‘ उनीहरु कमाउनकै लागि कम्युनिष्ट भएका रहेछन् ’ गुनासो गर्दै बृद्धा देवीमाया भन्छिन् ,‘ जति लुटेपनि पाप गरेर कमाएको सम्पतिले राम्रो हँुदैन ।’ विसं २०२८ देखि २०३० सम्म भएको झापा विद्रोहको नेतृत्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, नेकपा(माले)का महासचिव सीपी मैनाली र वरिष्ठ राजनीतिज्ञ आरके मैनालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्