मनिषा चम्लागाईँ, झापा भदौ १५ । गत वर्षसम्म झापाको हल्दिबारी गाउँपालिकामा भएका कामको चर्चा सर्वत्र थियो । विकास निर्माणका हिसाबले देशकै उत्कृष्ट गाउँपालिका बनाउने लक्ष्यकासाथ लागिपरेका यस पालिकाका जनप्रतिनिधिको ‘टसल’ले यतिबेला हल्दिबारी गाउँपालिकाको कार्यालय सुनसान छ ।

राजनीतिक द्वन्द्वको रिसकै कारण गाउँपालिकाको कामकाज प्रभावित हुँदै आएको छ । साताँै गाउँसभाका क्रममा शुरु भएको अध्यक्ष र उपाध्यक्ष बीचको विवाद अझै कायम नै छ । अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा गरिएका निर्णय पारित हुनुपर्ने उपाध्यक्षको माग छ भने अध्यक्ष आफू नभएका बेला गरिएका कुनै पनि निर्णय मान्ने पक्षमा छैनन् ।
यसैकारण विकास निर्माणका काममा मात्र अवरोध पुगेको छैन, गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पनि बस्नै मानेका छैनन् । जेठमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विजय इङनामले साउन २६ गते नै गाउँपालिका छोडे । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीचको टकरावका कारण उनलाई काम गर्न असजिलो भएको थियो । अध्यक्ष र उपाध्यक्षबीचको राजनीतिक विवादमा फस्ने डर भएपछि इङनामले हल्दिबारी गाउँपालिका छाडेको गाउँपालिकाका एक अधिकृतले बताए ।
इङनाम गएसँगै हल्दिबारीमा सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयमा कार्यरत राजकुमारी खत्रीलाई खटाए पनि उनी हाजिर भइनन् । “केही दिन बित्दै उहाँ नआउने सूचना हामीकहाँ आयो” हल्दिबारी गाउँपालिकाका सूचना अधिकृत राजन न्यौपानेले भने, “श्रम मन्त्रालयबाट सरुवा भइसकेपनि गाउँपालिकाको विवाद थाहा पाएपछि उहाँ आउनु भएन ।” अहिले गौरीगञ्ज गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाल हल्दिबारी आउने चर्चा छ । हल्दिबारी गाउँपालिकामा नेकपाको बहुमत रहेको छ । कार्यपालिकामा उपाध्यक्षसहित २२ जना सदस्य नेकपाका रहेका छन् । अध्यक्षसहित ५ नम्बर वडाध्यक्ष राप्रपाका रहेका छन् भने, वडा नम्बर ४ मा कांग्रेसका वडाध्यक्ष रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण गाउँपालिकालाई कोरोना नियन्त्रणमा समस्या परेको एक कर्मचारीले बताए । “प्रमुख प्रशासकीय अधिकृत नहुँदा कोरोना नियन्त्रण चुनौतिपूर्ण बनेको छ” उनले भने, “क्वारेन्टाइनमा आवश्यक पर्ने खाद्यान्न बाँकी ल्याएका छौँ, एम्बुलेन्सलाई भाडा उपलब्ध गराउन सकेका छैनौँ ।” प्रमुख प्रशासकीय अधिकृत नहुँदा हल्दिबारी गाउँपालिकाले चालु आर्थिक वर्षको विकास निर्माणको काम शुरु गर्न सकेको छैन ।
कचनकवल गाउँपालिकामा राजनीतिक द्वन्द्व

झापाको कचनकवल गाउँपालिका पनि यतिवेला राजनीतिक द्वन्द्वकै कारण विवादमा छ । गाउँपालिकाको छैटौँ गाउँसभाले चालु आर्थिक वर्ष ०७७–७८ का लागि ५३ करोड ८९ लाख ६० हजार एक सय रूपैयाँको बजेट बहुमतले पारित गरेको थियो ।
कचनकवल नेतृत्वले वडागत वजेटको विनियोजनमा विभेद गर्दै न्यून रकम छुट्याएको भन्दै ४ कार्यपालिका सदस्यसहित १४ परिषद सदस्यले निर्णय सच्याउन ५ दिने अल्टिमेटम दिएका थिए । गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको भन्दै कचनकवल –४ का वडाध्यक्ष तथा १० वडा सदस्यहरूले निर्णय सच्याउन माग गरे । यसैबीचमा गाउँपालिका नेतृत्वले वडाध्यक्ष तथा परिषद सदस्यहरूको मागबारे कुनै सुनुवाइ नगरेपछि केहीदिन अघि गाउँपालिकामा तालाबन्दीसमेत भएको थियो ।
उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिकाभित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखेका छन् । कचनकवल–४का वडाध्यक्षसहित १३ जना कार्यपालिका सदस्य नेकपा र नेपाली कांग्रेसका छन् भने बाँकी २२ जना सदस्य राप्रपाका छन् । कचनकवलको एक वडामा दलित सदस्य नभएको कारण ३५ जना कार्यपालिका सदस्य छन् ।
राप्रपाको बहुमत रहेको कचनकवल गाउँपालिकामा काम गर्न गाह्रो भएको एक कर्मचारीले बताए । “बहुमतले अल्पमतलाई पेल्ने संस्कारले हामीलाई काम गर्न धेरैकै समस्या छ” नाम नखोल्ने सर्तमा उनले भने, “जनप्रतिनिधिले नीति तथा कार्यक्रम निर्माण गर्न नसकेकै कारण गाउँपालिकाका गतिविधि ठप्प छन् ।
अल्पमत र बहुमतको राजनीतिक द्वन्द्वले कचनकवलमा पनि प्रमुख प्रशासकीय अधिकृत टिकेर काम गर्न सकेका छैनन् । अहिलेसम्मको तीन वर्षको अवधिमा ४ जना प्रमुख प्रशासकीय अधिकृत पुगिसकेका छन् । कचनकवल गाउँपालिका गठन भएपछि शुरुमा रेखनाथ दाहाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए । त्यसपछि तुलराज थापा मगर र दुर्गा पौडेल पनि कचनकवलको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहे । उनीहरुले राजनीतिक खिचातानीले काम गर्न समस्या भएकै कारण कम समयमा गाउँपालिका छाडे । ५ दिनअघि मात्र कचनकवलमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कुमार बस्नेत हाजिर भएका छन् । उनी आएकै दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्