जीवन निरौला, प्रमुख प्रशासकीय अधिकृत, झापा गाउँपालिका

झापा जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित झापा गाउँपालिका एक सुन्दर गाउँपालिका हो । बि.सं. २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साबिकको कुमरखोद, टाघनडुब्बा र शरणामति गाउँ बिकास समितिलाई झापा गाउँपालिका बनाइएको हो । झापा गाउँपालिकाको कूल क्षेत्रफल ९४.१२ वर्ग कि.मी रहेको छ । यो गाउँपालिका ७ वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बाह्रदशी गाउँपालिका पश्चिममा गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिका उत्तरमा कन्काई नगरपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ । यस गाउँपालिका ग्रामीण भेगको गाउँपालिका हो । भारतसँग सीमा जोडिएकाले गाउँपालिकालाई कोरोना नियन्त्रणमासमेत चुनौती रहेको छ । कोरोना कहरमा गाउँपालिकाले कसरी काम गर्दै छ भन्ने विषयमा केन्द्रित रहेर प्रतिदिनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग गरिएको कुराकानीको सार

स्थानीय तहमा निर्माण भएका नीतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हो । विगत १० महिनादेखि झापा गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा छु । ९ वर्षदेखि प्रत्यक्षरुपमा जनतासँग रहेर काम गरेको अनुभव मसँग छ । कोरोना कहरले झापा गाउँपालिकामा क्षमता अभिवृद्धिदेखि पूर्वधार विकाससम्मका काम ठप्प छन् । यो समयमा हामी गत वर्ष गरेका कामको समीक्षामा छौँ ।

झापा गाउँपालिका भारतसँग सीमा जोडिएको गाउँपालिका पनि भएकाले कोरोना महामारीको चपेटामा पनि छ । पछिल्लो समय कोरोना दिन दुई गुणा रात चौँ गुणा फैलिरहेको छ । सीमा क्षेत्र भएकाले रातको समयमा भारतबाट लुकीछिपी नेपाल आउने क्रम जारी छ । उनीहरु हाम्रो सम्पर्कमा नै आउँदैनन् । यो जिल्ला कै ग्रामीण भेगमा रहेको गाउँपालिका हो । यहाँ बस्ने अधिकांश नागरिक निम्म वर्गीय छन् । मजदुरी गुमेसँगै आयस्रोत नहुँदा यहाँका नागरिकको दैनिकी कष्टकर बन्दै गइरहेको छ । अहिले सबै विकास निर्माणका काम पनि रोकिएका छन् । हामीले प्रत्येक आर्थिक वर्ष एउटा वडाको एउटा बाटो कालोपत्रे गर्ने योजना बनाएका थियौँ । गत वर्षको फागुनदेखि नै कोरोना प्रभाव शुरु भएपछि विकासको काम रोकियो । असारसम्ममा सक्नुपर्ने योजना अधुरै रहे । हामीले म्यादथप गरी सामाजिक दुरी कायम गरेर काम शुरु गरेका छौँ । गाउँपालिकाको आन्तरिक आम्दानीको स्रोत भनेको हाटबजार बाट उढ्ने कर र बिरिङ खोलाको ठेक्का नै हो । यो वर्ष सो आम्दानी घट्ने देखिन्छ । गत वर्ष हामीले १ करोड २० लाख रुपैयाँ आन्तरिक आम्दानी संकलन गरेका थियौँ ।

हामीले गरेका काम पारदर्शीसमेत हुनुपर्छ । कामको पारदर्शीताको लागि मैले सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको थिएँ त्यससँगै शूरु भएको कोरोना भाइरसको चपेटाले त्यो काम हुन सकेन । हामीले गरेका कामलाई समीक्षा गोष्टिका रुपमा जानकारी गराईरहेका छौँ । साथै हामी नागरिकलाई छिटो र झन्झट रहित सेवा प्रदान गर्दै आइरहेका छौँ । कुनै पनि नागरिकले एउटै कामका लागि दुईपटकसम्म कार्यालय धाउनु नपरोस् भन्ने हाम्रो लक्ष्य हो । पालिकाका कामलाई चुस्तरुपमा सञ्चालन गर्नका लागि जनप्रतिनिधि र कर्मचारी बीचपनि सुमधुर सम्बन्ध रहन आवश्यक हुन्छ । राजनीति र प्रशासन एक सिक्काका दुई पाटा हुन् । तर, यी दुईमा सीमारेखा पनि हुन आवश्यक छ । एकले अर्काको कामलाई हस्तक्षेप नगर्ने हो भने विकास हाम्रै पालामा सम्भव छ । तर, जनप्रतिनिधिलाई आफ्नै कार्यकालमा सबै विकास गरेर देखाउन हतारो भएको देखिन्छ । कार्यापालिका स्तरमा निणर्य गरेपछि संघीय ऐनको समेत हेक्का राखिँदैन त्यसले पनि विकासमा बाधा पुर्‍याउँछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्