झापा, भदौ १६ । प्रदेश -१ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ ।
कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर-बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश -१ सरकारले विद्यालयमा सिकाइ सञ्चालनका तयारी सुरु गरी स्थानीय तहसँग छलफल चलाएको हो ।


सामाजिक विकास मन्त्री जीवन घिमिरेले केही समयअघि स्थानीय तहका प्रमुख-उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसँग विद्यालयमा सिकाइ सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिएका थिए । मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव लिएको हो । मन्त्री घिमिरेका अनुसार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने तयारी प्रदेशमा गरिएको बताउँदै भने, ‘हामीले प्राप्त सुझाव अनुसार थप छलफल गरी निष्कर्षमा पुग्ने योजना बनाएका छौं ।’

मन्त्रालयले स्थानीय तहका प्रमुख-उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरेको छ । प्राप्त सुझावालई शिक्षा मन्त्रालय समक्ष पेश गरिसकेको छ । मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाइ सञ्चालन गर्न सुझाव दिएको छ । सिकाइ सञ्चालनअघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टिन, आइसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिइएको छ । कक्षा सञ्चालन पूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्न सहजवातावरण बनाईनुपर्ने सुझाव दिइएको छ । बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यार्थी रोल नम्बरका आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । स्थानीय तहको अगुवाईमा हरेक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड ‘टास्क टिम’ तयार गरी उसको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने संघीय मन्त्रालयलाई सुझाव दिइएको छ ।

सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । कम संख्या रहेका विद्यालय सञ्चलान गर्न सकिने विषयमा समेत उठान गरिएको छ । प्रदेश- १ का १३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टिन छन् । दुई विद्यालयमा होल्डिङ् सेन्टर, तीनवटा विद्यालय र एउटा क्याम्पसमा आइसोलेसन केन्द्र सञ्चालित छ । प्रदेशमा ७ हजार १३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अहिले अध्ययनबाट वञ्चित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्