झापा , भदौ १६ । दमकमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको दमक नगरपालिकाको क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिए ।
परीक्षणका लागि पठाईएको १ सय १६ जनाको नमुना स्वाबमध्ये नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये एकजना कमल गाउँपालिका वडा नं ३ का ३० वर्षिय पुरुष रहेका छन् । ती ब्यक्ति दमकमा काम गर्ने गरेका छन् । सोमबार १ सयजनाको रिपोर्ट आएपनि १६ जनाको होल्ड भएको थियो । आज विहान फेरि थप ७ जनाको रिपोर्ट नेगेटिभ र अन्यको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
आज थपिएकासंगै दमकमा कुल संक्रमितको संख्या १ सय ६ पुगेको छ । जसमध्ये हिजोसम्ममा ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
उनका अनुसार दमकमा स्वाब परीक्षण गरिएकाहरुमध्ये अहिलेसम्म ८ देखि १० प्रतिशतमा कोरोना संक्रमण भएको पाईएको छ । संक्रमण देखिएकाहरुमा कहाँबाट संक्रमण भयो भन्ने पत्ता नलाग्दा दमकमा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ । नगरपालिकाले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरेको भएपनि त्यसको प्रभावकारिता खासै हुन नसकेको भनेर नागरिकस्तरबाट आलोचना हँुदै आएको छ । १२ वजेसम्म पसल खुलेपनि त्यसलाई अटेर गरी व्यापार,व्यवसाय गर्दै आएको पाईएको छ ।
दमकमा संक्रमण तीव्र रुपमा फैलिदै गएपछि जोखिम थप बढ्न सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न पछिल्लो एक साता खुकुलो पारी भदौ २० गतेसम्म निषेधाज्ञा गरिएको छ । निषेधाज्ञा भनिएपनि सवारी गुड्नुका साथै मानिसको आउजाउ निर्वाध रुपमा चल्दै आएको छ । त्यस्तै समुदायमा तीब्र रुपमा संक्रमण फैलिदै गएको कमलमा आज एकजना थपिएसँगै संक्रमितको सँख्या २५ पुगेको छ । जसमध्ये २० जना समुदायका छन् । कमलमा कोरोना संक्रमणबाट एकजना बृद्धको मृत्यु भइसकेको छ । त्यस्तै आज गौरीगञ्जमा समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भरतपुर क्यान्सर हस्पिटलबाट फर्केका गौरीगञ्ज १ का ब्यक्तिमा संक्रमण देखिएको हो । यसअघि उनीसँगै भरतपुर गएका उनका ज्वाइँलाई संक्रमण देखिएको थियो । ज्वाइँ निको भएर आएकै दिन ससुराको रिपोर्ट पोजिटिभ आएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । प्रदेश सरकारले बाह्रदशीमा ४ जनामा संक्रमण देखिएको बताएकोमा पुरानै संक्रमितहरुको पुनः परीक्षणको रिपोर्ट पोजिटिभ आएको गाउँपालिका कार्यालयले जनाएको छ ।