भद्रपुर , भदौ १७ । कोरोना महामारीको शुरुवातको बेला बढी प्रभावित देखिएको झापाको कचनकवलमा शतप्रतिशत पुरुषहरु नै संक्रमित देखिएका छन् ।

त्यहाँ अहिलेसम्म १३७ जनालाई कोरोना संक्रमण देखिएकोमा सबै पुरुषहरु नै रहेका छन् । अहिलेसम्म कुनै पनि महिलामा संक्रमण देखिएको छैन । गाउँपालिकाले १३२ महिला र १४६२ पुरुष गरी १६०० जनाको पिसिआर परीक्षण गरेकोमा त्यसमध्ये सबै १३२ जना महिलाको रिपोर्ट नेगेटिभ आएको हो । पिसिआर परीक्षणलाई हेर्दा कचनकवलमा करीव ८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ । कचनकवलमा १३७ जनामा संक्रमण देखिएकोमा कचनकवल ठेगाना भएका ब्यक्तिले बाहिर गएर परीक्षण गराउँदा अन्य दुईजनामा पनि संक्रमण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । उनले अहिलेसम्म ३ महिला र २७ पुरुष गरी ३० जनाको आरडिटी परीक्षण गरिएको जानकारी दिए । त्यस्तै गाउँपालिकाले १२०० भिटिएम खरिद गरेको , ४०० वटा सहयोग प्राप्त भएको र स्वास्थ्य कार्यालयबाट २०० वटा उपलब्ध भएको गरी १८०० वटा भिटिएम खपत भएको जनाए । गाउँपालिकाले संचालन गरेको विभिन्न क्वारेन्टाइनमा हालसम्म ८०० जना बसेको विवरण देखिएको छ । क्वारेन्टाइन बसेकाहरुमा ३८ महिला र ७६२ जना पुरुष रहेका छन् । त्यसमध्ये हाल ४ महिला र १७ पुरुष गरी २१ जना मात्र क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्