झापा , भदौ १८ । तीब्र रुपमा चुरे दोहन भइरहेको बुद्धशान्ति गाउँपालिकाको टिमाई खोलामा बुधबार सुरक्षा निकायका अधिकारीसहित तीनै तहका जनप्रतिनिधिहरु दलबलका साथ पुगे । संघीय , प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिहरु चुरे दोहन रोक्न नभएर त्यहाँ हेर्न मात्र गएको पाइयो ।

चुरे दोहनले गरिरहेको क्षति

सुरक्षा निकायसँगको आपसी मिलेमतोमा चुरे दोहन भइरहेको आरोप लागिरहेका बेला त्यहाँ उपस्थित तीनै तहका जनप्रतिनिधिहरले चुरे दोहन नियन्त्रण गर्ने उपाय खोज्नुको साटो एकले अर्कालाई दोषारोपण मात्र गरे । संघीय सांसद राम कार्की , प्रदेश सांसद गोपाल बुढाथोकी , जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल , बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलले एकले अर्कामाथि दोष देखाउनुबाहेक खुलेआम भइरहेको चुरे दोहन रोक्ने बिषयमा कुनै पनि उपाय दिन सकेनन् । जिल्लाका राजनीतिक दलका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुलाई लिएर गएको जिम्मेवार टोलीलाई स्थानीयले चुरेको तीब्र दोहनको बारेमा ध्यानाकर्षण गराइरहँदा समेत उनीहरुले चुरे दोहन रोक्ने आश्वासन समेत दिन सकेनन् । केवल एकले अर्काको कमजोरी औल्याउने काम मात्र गरिरहे । संघीय सांसद राम कार्कीले चुरे दोहन रोक्न सकिएन भने तराई पनि नरहने बताए । उनले चुरे दोहन बेलैमा रोक्नु पर्नेमा जोड दिए । प्रदेश साँसद गोपाल बुढाथोकीले अबैध रुपमा भइरहेको चुरे दोहन रोक्न सबैले पहल गर्नु पर्नेमा स्थानीय तहले आधिकारिकता प्रदान गरिरहेको आरोप लगाए । उनले चुरे क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर दोहन भइरहेको भन्दै स्थानीय तहको मिलेमतोमा त्यसले प्रसय पाएको दावी गरे । जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले पनि स्थानीय तहकै मिलेमतोमा नदी खोलाबाट अबैध दोहन भइरहेको बताए । उनले स्थानीय तहले आफुखुशी गर्दा नै समस्या बढेको भन्दै स्थानीय तहबाट अनुमति लिएरै तस्करहरुले तस्करी गरिरहेको दावी गरे । स्थानीय तहमाथि प्रश्न उठाइरहँदा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने दोष जति सुरक्षा निकायमाथि थोपरिदिए । उनले चुरे दोहन केही गर्दा पनि रोक्न नसकेको स्वीकार गर्दै बुद्धशान्तिमा मात्र नभएर देशभरिकै हालत त्यस्तै रहेको बताए । उनले प्रहरी प्रशासन जिल्लाले चलाउने अनि चुरे दोहन स्थानीय तहले रोक्नु पर्ने भन्दै प्रहरी आफ्नो अधिनमा भए रोकेर देखाइदिने दावी गरे । ‘ के राति म अध्यक्षले लठ्ठी लिएर खोलामा कस्नु पर्ने हो ?’ उनले प्रश्न गर्दै भने ,‘ हामी त विना लाठीको हवल्दार हौ , प्रहरी प्रशासन अरुको हातमा छ. । ’ अध्यक्ष भुजेलले स्थानीय तहले मात्र चुरे दोहन रोक्न नसक्ने धारणा राखे । उनले जिल्ला समन्वय समितिका संयोजक पोर्तेललाई मुखले मात्र बोलेर होइन , चुरे दोहन रोकेर देखाउन चुनौती दिए । पोर्तेलले बुद्धशान्ति गाउँपालिकाले वडा नं ४ टिमाइ किनारामा आईई नगरी अबैध रुपमा किन गिटी बालुवा निकाल्न दिएको भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा गाउँपालिका अध्यक्ष भुजेलले केही जग्गाधनीले गाउँपालिकाको सिफारिसमा आफ्नो नम्बरी खेतबाट गिटी बालुवा निकालेको दावी गरे ।
चुरे दोहनको क्षति

चुरे दोहनले गरिरहेको अर्को क्षति

अबैध रुपमा अत्यधिक चुरे दोहन भएपछि टिमाइ खोलामा क्षति बढेको छ । चुरे दोहनकै कारण टिमाई खोलाले कटान तीब्र पारेको हो । दक्षिणपट्टि खोलालाई दोहन गर्दा उत्तरपट्टि खोला गहिरिदै गएको र कटान बढेको सथानीय बताउँछन् । बढ्दो कटानका कारण मानव बस्ती जोखिममा परेको बुद्धशान्ति ५ की मनु चापागाईले बताइन् । उनले तस्करहरुले गिटी ढुंगा निकालिदिदा टिमाइ खोलाले २०० वटा तारजाली बगाएर पूर्वपट्टि निकै कटान गरेको जानकारी दिइन् । सोही ठाउँकी तारा पुलामीले पहिला खोला टाढा रहेकोमा अहिले गाउँ नजिक आइपुगेको बताइन् । त्यसैगरी स्थानीय लालबहादुर कुमालले तारजाली भर्न थुपारेर राखेको ढुंगा समेत तस्करहरुले राति आएर लगिदिएको बताए । अर्का स्थानीय समाजसेवी बोधराज दाहालले दिउँसो चुरे दोहन नभएपनि राति दोहन गर्ने क्रम बढेको बताए । उनले जनताको अगाडि दोहन रोक्ने भन्नेले भित्री रुपमा तस्करसँग मिलेर पैसा कमाइरहेको ठोकुवा गरे । अनुगमन टोलीमा नेकपाका चिन्तन पाठक , जनता समाजवादी पार्टीका अनुत राजवंशी , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइराला , सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक , डिभिजन वा कार्यालयका प्रमुख विष्ण्ुलाल घिमिरेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्