भद्रपुर , भदौ १८। आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन, एन प्याब्सन र नगर क्षेत्रमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।

पाँच महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक, प्याब्सन, एन प्याब्सनबिरूद्ध आन्दोलित भएको युनियनले भदौ मसान्तभित्र ३ महिनाको तलव भुक्तानी हुनु पर्ने एक सुत्रीय माग राखेर ज्ञापनपत्र बुझाएको हो ।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने ठहरसहित विद्यालय सञ्चालक, प्याब्सन, एन प्याब्सनले राज्यको नीतिनियम विपरित चल्न नहुने अनुरोधका साथ ज्ञापनपत्र बुझाइएको हो । जसको बोधार्थ भद्रपुर नगरपालिकालाई दिइएको छ ।
नगर अध्यक्ष द्रोण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे तथा प्रदेश सहसचिव राजु वरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा निरन्तर पारिश्रमिक उपलब्ध गराइदिन आग्रह गरिएको छ । आफूहरुको माग सुनुवाइ नभए सडक आन्दोलनदेखि तालाबन्दी, भण्डाफोर, सामाजिक बहिस्कारलगायतका कार्यक्रम गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् । भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय सञ्चालित छन् । त्यसमा एक हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्