झापा , भदौ १८ । झापाको कमल गाउँपालिकामा परिवार–परिवारमा कोरोना संक्रमण फैलिदै गएको छ ।

एकपछि अर्को परिवारमा फैलिदै गएको संक्रमणले सिंगो समुदायलाई नै असर पुग्ने देखिएको छ । तीब्र रुपमा संक्रमण फैलिदै गएको कमल गाउँपालिकामा आज तीन परिवारका ६ जनामा संक्रमण देखिएको हो । त्यहाँका घिमिरे , भुजेल र थापा परिवारका थप सदस्यहरु आज संक्रमित भएका हुन् । कमल गाउँपालिका वडा नं ३ केर्खा बजारका ८ वटा परिवारका सदस्यहरुलाई संक्रमण देखिएको छ । कुनै परिवारका सम्पूर्ण सदस्य संक्रमित छन् भने कुनै परिवारका एक सदस्यबाहेक बाँकी सबैलाई संक्रमण पुष्टि भएको छ । वडा नं ३ को एउटै टोलका घिमिरे , ढकाल , विष्ट , पाण्डे , थापा, भुजेललगायतका परिवारका सदस्यहरुलाई एकबाट अर्कोमा संक्रमण सरेको हो । घिमिरे परिवारमा आमा, बुबा , छोरा र छोरी गरी चारैजनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै ढकाल परिवारमा नातिबाहेक आमा, बाबु , छोरा र बुहारी संक्रमित भएका छन् । त्यस्तै ढकाल परिवारमा पनि एकजना बाहेक सबै संक्रमित छन् । वडा नं ३ को केर्खा बजारदेखि भवानी टोलसम्मका परिवारमा संक्रमण फैलिएको देखिएको छ । वडा नं ३ सँगै वडा नं ६ को सुवेदी परिवारमा पनि एकभन्दा बढी सदस्यमा संक्रमण फैलिएको छ । संक्रमित क्षेत्र केर्खा बजारमै घर भएकी गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उनका एक छिमेकीबाहेक प्रायः सबैको परिवारलाई संक्रमण भइसकेको छ ।‘ मेरो र मेरो एकजना छिमेकीबाहेक टोलका सबै परिवारमा संक्रमण छिरिसक्यो’ अध्यक्ष काफ्लेले भनिन्, ‘ पिसिआर परीक्षणमा मेरो परिवारका सदस्यहरुलाई केही भएको देखिएन ।’ अध्यक्षको परिवारमा ४ जना सदस्य रहेका छन् ।
कमल गाउँपालिकामा संक्रमितको सँख्या ३७ पुगेको छ । त्यसमध्ये ३२ जना समुदायका रहेका छन् । कोरोना संक्रमणबाट वडा नं ३ का एक बृद्धको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको ‘हटस्पटः बन्दै गएको कमल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले भदौ २० गतेसम्म निषेधाज्ञा लगाएको छ । सर्वसाधारण र व्यवसायीलाई पर्न गएको अप्ठ्यारोलाई मध्यनजर गरी निषेधाज्ञा हटाउने सोच बनाएकोमा समुदायमा संक्रमण फैलिने दर अझ बढेको अध्यक्ष काफ्लेले बताइन् । जिल्लाका सबै पालिकाहरुमा प्राविधिकहरुको टीआइसीटी टीमले कोरोना संक्रमणको दरलाई अनुसन्धान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँपालिकामा एउटा र नगरपालिकामा दुईवटा प्राविधिक टोली खटाइएको छ । त्यस किसिमको टोलीलाई कमल गाउँपालिकामा पनि खटाइएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले परिवार र समुदायमा फैलिएको संक्रमण र त्यसलाई रोकथाम गर्नका लागि अपनाउनु पर्ने उपाय खोजी भइरहेको जानकारी दिए । कमल गाउँपालिकामा भदौ ४ गते समुदायमा पहिलो संक्रमण देखा परेको थियो । जुन संक्रमितको मृत्यु भएको हो । केर्खा बजारमा रहेका औषधि व्यवसायी र मोबाइल पसल संचालकबाट धेरैजनामा संक्रमण फैलिएको आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्