बिर्तामोड , भदौ १८ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना तीनजना सदस्यहरुलाई स्वास्थ्य उपचार राहत सुविधा प्रदान गरेको छ ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेतको नेतृत्वमा सम्बन्धित सेवा केन्द्रका कर्मचारी तथा सञ्चालकहरुले गोलधाप, हल्दिबारी र काँकरभिट्टाका सदस्यहरुलाई उपचार सुविधा प्रदान गरेका हुन् । संस्थाले मेचीनगर सेवा केन्द्रका सदस्य काँकरभिट्टा निवासी कमलकुमारी राईलाई पत्थरीको शल्यक्रिया गरिएकाले उपचार सहयोगवापत् २० हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाका विभागीय प्रमुख बस्नेत र मेचीनगर सेवा केन्द्र प्रमुख शान्तकुमार बस्नेतले संयुक्तरुपमा राईलाई नगद हस्तान्तरण गरेका हुन् । उपचार सहयोग ग्रहण गरेपछि कमलाले आफ्ना सदस्यहरुलाई सिम्रिक सहकारीले परिवारकैजस्तो व्यवहार गरेकोमा आभार प्रकट गरेकी छन् ।
यस्तै, संस्थाको गरामनी सेवा केन्द्रअन्तरगतका सदस्य शिवकुमार संग्रौलाको एपेण्डिसाइट्सको शल्यक्रिया गरिएकाले उनलाई १९ हजार ६७० रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेत र गरामनी सेवा केन्द्र प्रमुख दिपेश राजवंशीले संग्रौलालाई नगद हस्तान्तरण गरेका हुन् । त्यस्तै सिम्रिक साकोसले पित्तथैलीमा पत्थरीको शल्यक्रिया गराएकी गोलधाप सेवा केन्द्रका सदस्य बिमला लिङ्देनलाई पनि राहत हस्तान्तरण गरेको छ । संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीले बिमलालाई उपचार सहयोगवापत् १५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गत असार मसान्तसम्म २५ हजार ७९३ जना शेयर सदस्य रहेको सिम्रिक साकोसले सदस्य राहत कार्यक्रमअन्तरगत दुर्घटना वीमा सुविधा, दैवीप्रकोप राहत सुविधा, सदस्य मृत्यु राहत सुविधा र सदस्य स्वास्थ्य उपचार राहत सुविधा प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्