बिर्तामोड , भदौ १९ । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वर्तमान असहज परिस्थितिमा वार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने विषयमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ ।

संस्थाको विधानअनुसार यो वर्ष नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमणको महामारीले नियमित काम गर्नसमेत असहज बनिरहेको समयमा आर्थिक वर्षको पहिलो ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने ऐनको व्यवस्था कार्यान्वयन गर्न र नयाँ नेतृत्व चयन गर्ने विधि अध्ययन गर्न कार्यदल बनाइएको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष कमलबहादुर बस्नेत, सचिव सुवास भट्टराई र सदस्य लीला मुखिया रहेको कार्यदल गठन गरेको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्न कार्यादेश छ । कार्यदलले काम थालिसकेकाले तोकिएको अवधिभन्दा पहिले प्रतिवेदन पेश गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताएका छन् ।
संस्थाको सञ्चालक समिति ९ सदस्यीय र लेखा सुपरीवेक्षण समिति ३ सदस्यीय हुनेछ । सिम्रिक साकोससँग हालैमात्र दमक ६ को चेतनशील साकोस र इलामको माई नगरपालिका २ दानाबारीस्थित अमृत साकोसबीच एकीकरण गरिएकाले क्षेत्रगत प्रतिनिधित्वका लागि नयाँ नेतृत्व चयनले महत्व पाउने भएको हो ।
यसैबीच सिम्रिक साकोसले विगत ९ दिनदेखि आफ्ना कर्मचारीहरुसँग क्रमागत अन्तरक्रिया गरेको छ । इलामको माई नगरपालिका २ दानाबारीस्थित अमृत साकोससँग एकीकरण गरिएपछि कार्यक्षेत्र जिल्ला बाहिर पनि विस्तार भएकाले दैनिक १८ जनाका दरले कर्मचारीहरुसँग अन्तरक्रिया गरेको तालिम विभाग प्रमुख विजय बस्नेतले जनाएका छन् ।
संस्थाका शाखा प्रमुख, खजाञ्ची र कर्जा विभागका कर्मचारी तथा बजार प्रतिनिधिहरुलाई फरक–फरक दिन मुख्य कार्यालयमा आमन्त्रण गरी संस्थाले निर्धारण गरेको लक्ष्य भेट्टाउन के कस्ता प्रयास गर्न सकिन्छ भनी सुझाव लिइएको छ ।
हरेक स्थानीय तहले कोरोना संक्रमणबाट बच्न, बचाउन नागरिकका लागि जारी गरेको निर्देशन समेतको पालना गरी शाखाहरुले काम गरिरहेकोमा अन्तरक्रियामार्फत् थप ऊर्जा भरेको अध्यक्ष बस्नेत बताउँछन् ।
संस्थाका कर्मचारीहरुको आत्मबल दह्रो भयो भने उद्देश्य पहिल्याउन सकिन्छ भन्ने मान्यताका आधारमा सानो–सानो संख्यामा कर्मचारीहरुसँग अन्तरक्रिया गरिएको उनको भनाइ छ । नौ दिवसीय अन्तरक्रिया शुक्रबार सकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्