अर्जुनधारा भदौ, १९ । कोरोना महामारीका कारण जारी बन्दाबन्दीको समय सदुपयोग गर्दै झापाको अर्जुनधारा नगरपालिकाले नगरले गरेका कामको समीक्षा शुरु गरेको छ । स्थानीय तहको गठन भएदेखि हालसम्म नगरले गरेका कामको समीक्षा शुरु गरेको हो । अर्जुनधारा –१, २, ४, ५, ६ नम्बर वडाको समीक्षा सकिएको छ भने बाँकी वडामा निरन्तर गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।

“स्थानीय तहको गठनसँगै नगरपालिकाले गरेका विकास र भावी योजनाको विषयमा समीक्षा गरेका हौँ” भूर्तेलले भने । अर्जुनधारा नगरपालिकामा जनप्रतिनिधि आएसँगै ९.७ किलोमिटर बाटो कालोपत्रे भएको छ । केन्द्र र प्रदेशसँग समन्वय गरेर कालोपत्रे गरिएका सडकहरु अर्जुनधारा –६मा पुष्पलाल चोकदेखि छाताचोकसम्म २ किलोमिटर, ७मा दाहाल चोकमा ९ सय मिटर, ८मा तुतबारीदेखि केशवकुमार बुढाथोकीको घरसम्म १ किलोमिटर, –८मा नै हात्तीकिल्ला क्षेत्र ५ सय मिटर, शनिश्चरे स्वास्थ्य चौकी जाने बाटो ३ सय मिटर, माता मन्दिरदेखि प्रणामी मन्दिर पुग्ने मुख्यमन्त्री सडक १६ सय मिटर बाटो रहेका छन् । त्यस्तै, मदन आश्रित मार्ग २ किलोमिटर निर्माण चरणमा छ ।

नगरपालिकामा १ सय ८५ किलोमिटर ग्राभेल भएको छ भने १० किलो मिटर बाटो ट्रयाक खोल्ने काम भएको छ । नगरपालिकाले तीन वर्षको अवधिमा ९८ वटा मोटरेवल पुल र ४ वटा झोलुङगे पुल निर्माण गरेको जनाएको छ । नगरपालिकाले ६ वटा खानेपानीका आयोजना विस्तार गरेको छ । त्यसबाट ११ हजार नागरिक लाभान्वित भएको नागरपालिकाले जनाएको छ । यस अवधिमा नगरपालिकाले ३९.४ किलोमिटर क्षेत्रमा विद्युत् तार विस्तार गरेको छ । नगरपालिका भित्र ४ वटा स्वास्थ्य चौकी भवन निर्माण र ११ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको भूर्तेलले जानकारी दिए ।

कृषि र पशुपंक्षी क्षेत्र ः
अर्जुनधारा नगरपालिकाले वितेको ३ आर्थिक वर्षमा २ सय १७.७५ हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । चालु आर्थिक वर्षमा नगरले कृषि तथा पशुपंक्षीको विकासलाई महत्व दिएर योजना बनाएको छ । नगरपालिकाले कृषिमा स्थानीय प्रजातिको बाली, लहरे खेती तथा धान, मकै, आलुको बीउविजन उत्पादन गर्ने नीति बनाएको छ । नगरले प्याज, लसुनको व्यावसायिक खेती गर्ने तथा बेमौसमी तरकारी खेती प्रवद्र्धन गर्ने योजना बनाएको छ । नगरमा सुपारी र उखु तथा नगदे खेतीको प्रवद्र्धन तथा प्रशोधनका उद्योगलाई प्रोत्साहन गर्ने नीति छ । बाली रोग नियन्त्रणमा पूर्व तयारी गर्ने लक्ष्य नगरको छ ।

नगरले अर्जुनधारालाई लोकल कुखुराको हब बनाइने जनाएको छ । लोकल कुखुरा पकेट क्षेत्र घोषणा गरेर न्यूनतम ६ सय परिवारलाई व्यावसायिक कृषक बनाई वार्षिक ६ लाख किलो मासु उत्पादनबाट ३० करोड रुपैयाँ नगर भित्र्याउने लक्ष्य रहेको अधिकृत भूर्तेलले जानकारी दिए । नगरपालिकाले पशु रोग जाँच गर्ने ल्याव तीन स्थानमा स्थापना गर्ने जनाएको छ । नगरपालिका रहेर व्यावसायिक कृषक समूह तथा फर्मलाईं वीमामा अनुदान दिने तथा महिनामा न्यूनतम प्रत्येक घरमा १ पटक प्राविधिकको परार्मश सेवा प्रदान गर्ने लक्ष्य बनाएको छ । नगरपालिकाले १५ विगाह जग्गामा कृषि र पशुजन्य उद्योग स्थापना गर्ने योजना बनाएको छ । त्यसका लागि नगर सहकारी स्थापना गर्ने लक्ष्य राखेको भूर्तेलले जनाए । “हामी नागरिकलाई सेयरहोल्डर बनाउने र आएको नाफा नागरिकलाई नै उपलब्ध गराउने छौँ” भूर्तेलले भने, “सहकारीमा खसीको होल्डिङ सेन्टर बनाउने, उत्पादित कृषिजन्य वस्तुको प्रशोधन र ग्रेडिङ गरी बिक्री गर्ने काम गर्ने छौँ ।” नगरले नीति तथा कार्याक्रम पूरा गर्न सरोकारवालासँग परामर्श गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्