बिर्तामोड , भदौ १९ । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७– ०७८ का लागि बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पाँचौ नगरसभाबाट पारित बजेट , नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो । नगरसभाले चालु आर्थिक वर्षका लागि १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको वजेट पारित गरेको थियो । प्रदेशसभा सदस्य एकराज कार्कीले बजेट पुस्तिका सार्वजनिक गरेका हुन् । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख पवित्रा महतारा प्रसाईले राखेकी थिइन् । सोही कार्यक्रममा उमेर हदका कारण अबकास पाएका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई विदाई गरिएको छ । त्यस्तै तत्कालीन अनारमनी गाविसका खरिदार राजेन्द्रप्रसाद पौडेललाई पनि विदाई गरियोे । पौडेलले केही महिनाअघि अवकास पाएका हुन् । प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई बिर्तामोड उद्योग वाणिज्य संघ , वीरता जेसीज , वीरता लेडीज जेसीज , उद्यमी महिला संघ , अलैची व्यवसायी महासंघ , नगरपालिकाका विभिन्न शाखा, नेकपा बिर्तामोड नगर कमिटी , बिर्तामोड खेलकुद नगर विकास समितिलगायत दर्जनौ. संघसंस्थाहरुले विदाइ गरेका थिए । विदाई भएका खतिवडाले बिर्तामोड नगरपालिकामा सबैको एकता भएर विकास निर्माणले फड्को मारेको बताउँदै सबैको सहकार्यमा अन्तिम अवधिसम्म काम गर्न पाएकोमा धन्यवाद दिए । उनले बिर्तामोड नगरपालिकाको भविष्य उज्जवल रहेको भन्दै आगामी दिनमा अझ उत्तरोतर प्रगतिको कामना गरे । २०७४ असोज महिनादेखि बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेका दमक ९ निवासी खतिवडाले भदौ १६ गते उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् । कार्यक्रमको संचालन अधिकृत जय तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्