झापा , भदौ २० । पत्रकार तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय कोषाध्यक्ष शालिकराम पाण्डेलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।

श्रीजनमत साप्ताहिकका सम्पादक शालिकराम पाण्डेलाई भदौ १८ गते विहिबार समाचार संकलनका क्रममा प्रहरीले परिचयपत्र नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको हो। समाचार संकलन तथा बजार अनुगमन गर्ने क्रममा रहेका सम्पादक पाण्डेलाई सुनसरीको इटहरी उपमहानगरपालिका बुधबारे हटिया नजिक इलाका प्रहरी कार्यालय अगाडि प्रहरीले परिचयपत्र खोसी आधा घण्टा होल्ड गराएको थियो।
सो घटनाप्रति स्वतन्त्र पत्रकार संघ नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ‘ कोभिड–१९ संक्रमणको जोखिम बीच नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरीबाट भएको यो अराजक हर्कत आपतिजनक हुनुको साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो। स्वतन्त्र पत्रकार संघ नेपाल पत्रकारिता पेशाप्रति हतोत्साही बनाउने प्रहरीको यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ ।’
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय समिति अध्यक्ष के.वि. मसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनामा संलग्न प्रहरीलाई कार्वाही गर्न , प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्तो कार्य नदोहोर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्