बिर्तामोड , भदौ २० । उमेर हदका कारण सेवा निवृत भएका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई नेपाली काँग्रेसमा आउन केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।

अवकास पाएपछि खतिवडाले अब के गर्छन् भन्ने चासो धेरैले लिइरहेका बेला काँग्रेसले पार्टीमा आउन प्रस्ताव गरेको हो । बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले आज आयोजना गरेको विदाइ कार्यक्रममा सहभागी काँग्रेस नेताकार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृत खतिवडाको खुलेर प्रशंसा मात्र गरेनन् , पार्टीमा आएर राजनीति शुरु गर्न प्रस्ताव पनि गरे । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्यसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवाकोटीले खतिवडालाई काँग्रेसमा आउने भए टिकट दिन तयार रहेको बताए । उनले दमक नगरपालिका ९ निवासी खतिवडालाई दमकमै बसेर राजनीति गर्ने भए त्यहाँको मेयरको टिकट दिनका लागि पहल गर्ने आश्वासन दिए । त्यस्तै पूर्व राष्ट्रिय सभा सदस्य तथा काँग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले खतिवडा राजनीतिमा आए आफू सहयोग गर्न तयार रहेको बताए । विद्यार्थीकालदेखि अखिलको राजनीति गरेर कम्युनिष्ट पार्टीप्रति निष्ठावान खतिवडाको व्यवहारप्रति बिर्तामोड नगरपालिकामा प्रतिपक्षमा रहेको काँग्रेस प्रभावित भएको हो । ‘काँग्रेस, कम्युनिष्ट , राप्रपा सबैले तपाईलाई आफ्नो मान्छे ठानेका छन् ’ काँग्रेस केन्द्रीय सदस्य शिवाकोटीले भने ,‘ तपाईले दलहरुबीच गरेको सामञ्जस्यता अविस्मरणीय रहनेछ ।’ त्यस्तै अग्रज नेता सिटौलाले कम्युनिष्ट पार्टीको बहुमत रहेको बिर्तामोड नगरपालिकामा खतिवडाले प्रतिपक्षसँग पनि उत्तिकै सम्बन्ध राखेर राम्रो सहजकर्ताको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । दुर्गा मन्दिरको व्यवस्थापन , लकडाउनमा राहत वितरणलगायतका काममा आएको समस्या प्रमुख प्रशासकीय अधिकृतकै बुद्धिमता र सहजीकरणबाट हल भएको उनले खुलाए । त्यस्तै ३ नं वडाध्यक्ष एवं काँग्रेसका नगरसभापति भोजराज सिटौलाले खतिवडाले राजनीतिबाट प्रभावित भएर कहिल्यै काम नगरेको भन्दै आफूले पनि काँग्रेस भएर उनीसँग व्यवहार नगरेको बताए । विभिन्न स्कूलिङबाट आएका जनप्रतिनिधि र कर्मचारीलाई सन्तुलन मिलाएर सहजीकरण गर्ने काममा आफूलाई सबैले सहयोग गरेको खतिवडाले बताए । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने खतिवडा कट्टर कम्युनिष्ट समर्थक मानिन्छन् । यद्यपि उनले आफ्नो स्वभाव र विवेकलाई बन्धक बनाएर तत्काल राजनीति नथाल्ने बताए । उनले बिर्तामोड नगरपालिकामा रहँदा आफूलाई कम्युनिष्ट भएर काँग्रेससँग मिलेको आरोप लाग्ने गरेको बताउँदै कर्मचारीहरुले राजनीति गर्ने हैन वुझ्न आबश्यक भएको धारणा राखे । विदाइ कार्यक्रममा सेवा निवृत बिर्तामोडका अर्का कर्मचारी राजेन्द्रप्रसाद पौडेललाई पनि काँग्रेसले पार्टीमा आउन प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्