झापा , भदौ २२ । झापामा समुदायमा कोरोना संक्रमण अझ बढ्दै गएको छ । हिजो एकैदिन ३२ जनालाई संक्रमण देखिएको भोलिपल्ट आज १५ जना संक्रमित भएका छन् । त्यसमध्ये १३ जना समुदायका , एकजना सुरक्षाकर्मी र एकजना भारतबाट फर्केका ब्यक्ति रहेका छन् । कनकाई नगरपालिकामा १३ र बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकामा एक–एकजनालाई संक्रमण देखिएको हो ।

एकजनाको मृत्यु भएको कनकाई नगरपालिकामा ७ महिला र ६ पुरुष गरी १३ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमितहरु कनकाई वडा नं ७ का ४ जना र वडा नं ३ का ९ जना छन् । त्यसमध्ये एकजनाबाहेक सबै स्थानीय समुदायका रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । एकजना भने भारतबाट फर्केको जनाइएको छ । वडा नं ३ का एकै परिवारका सबै ६ सदस्यहरुलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए । उनका अनुसार संक्रमित परिवारमा एकजना ७९ वर्षकी बृद्धा रहेकी छन् ।
गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । कनकाई ३ मा केही दिनअघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । कन्काई नगरपालिका ३ सुरुङ्गाकी ४५ बर्षीया संक्रमित महिलाको हिजो मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड नगरपालिकामा आज एकजनालाई संक्रमण देखिएको छ । संक्रमित हुनेमा सुरक्षाकर्मी रहेका छन् । प्रहरी चौकी बुट्टाबारीका ३६ वर्षिय प्रहरीलाई संक्रमण देखिएको हो । मोरङको उर्लाबारीबाट फर्किएपछि उनलाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले बताए ।
त्यस्तै बाह्रदशी गाउँपालिकाका एकजना अटोचालकलाई कोरोना संक्रमण देखिएको छ । बाह्रदशी गाउँपालिका वडा नं ५ का ३० वर्षिय अटोचालकलाई कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाले ५ दिनअघि अटोचालक र स्वास्थ्यकर्मी गरी ६२ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये एकजना अटोचालकको रिपोर्ट पोजिटिभ आएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । त्यसैगरी हिजो कोरोना संक्रमणबाट मृत्यु भएकी कनकाई ३ की ४५ वर्षिया महिलाको माइतीघर र आसपासका व्यक्तिहरुको आज कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । ती महिला बाह्रदशी ५ मा रहेको माइत गएकी थिइन् । गाउँपालिकाले सूचना जारी गरी ती महिला घुमेको ठाउँ उनको माइतीघर , धामीझाक्री टोल , स्वास्थ्य चौकी , चौक बजार र चकचकी बजार अनिश्चितकालका लागि सिल गरेको छ । त्यस्तै गाउँपालिका र ४ नं वडा कार्यालय पनि बन्द गरिएको अध्यक्ष राजवंशीले बताए । योसँगै झापामा कोरोना संक्रमितको सँख्या ६७९ पुगेको छ । त्यसमध्ये ४९८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १७८ जना आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्