भद्रपुर,भदौ २३ । कोरोना उपचार केन्द्र थपिएपछि जनविश्वास गुमाउँदै जाँदा मेची अस्पतालमा उपचार गर्ने विरामीको चाँप घट्दो अवस्थामा छ । अस्पतालमा कार्यरत प्राविधिक तथा कर्मचारीको सेवा प्रवाहको विषयमा पटकपटक जनगुनासो बढिरहेको अस्पतालमा आपसी कलहले झनै नकारात्मक असर गरिरहेको छ ।

ल्याव तथा ओपीडी सेवाका अधिकांस कर्मचारी आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न भन्दा अस्पताललाई तलव खानेस्थल बनाएर पहुँचको बलमा अन्यत्र सेवा गर्न जाने गरेका घटना नयाँ होइनन् । पछिल्लो पटक ल्याव इन्चार्ज रामचन्द्र झालाई महिला कर्मचारी रचना शर्मामाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ । ६ वर्षयता अस्पतालको ल्याव प्रमुखको जिम्मेवारी सम्हालेका झा पहिलो पटक विवादमा परेका भने होइनन् । यस अगाडि पनि कर्मचारीमाथि अभद्र व्यवहार गरेको तथा विभिन्न निकायबाट सिक्न आउने विद्यार्थीमाथि शोषण गरेको आरोप लाग्ने गरेको थियो ।
यता आरोप लगाउने शर्मा पनि विवादरहित कर्मचारी भने होइनन् । ५ वर्षयता अस्पतालमा कार्यरत उनी आफूले दिनुपर्ने समय कार्यालयलाई नदिएको आरोप छ ।
घटना विवरण अनुसार शर्मा लगायत ६ जना कर्मचारी गएको शनिवार विहान कोरोना परीक्षणका लागि स्वाव संकलन कार्यमा खटिएका थिए । ६ महिनायता स्वाव संकलनमा गएका कुनै पनि कर्मचारीलाई त्यस दिन कार्यालयको काममा आउनु नपर्ने नियम बनाइएको थियो । सोही अनुसार रात्रीकालीन ड्युटीमा शर्मा कार्यालयमा आइनन् । इन्चार्ज झालाई ड्युटीमा कर्मचारी नआएको खवर गएपछि फोनमार्फत बुझ्दा काममा नआउने जानकारी पाए । सोही विषयलाई लिएर प्रमुख झा र कर्मचारी शर्माबीच आइतवार विहान ड्युटीस्थलमा विवाद हुन पुग्यो । दुवैजना आ–आफ्नो शक्ति प्रदर्शनमा उत्रदा अस्पतालको ल्याव सेवाग्राहीका लागि रमिता बन्न पुग्यो ।
झा र शर्मा गरी दुई पक्षमा कर्मचारीहरु विभाजित हुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर देखिएको छ ।शर्मा आफूमाथि प्रमुख झाले पटकपटक दुव्र्यवहार गरेको आरोप लगाउँछिन् भने शर्माको आरोप झुट रहेको झा बताउँछन् । दुई कर्मचारीको विवाद अस्पतालभित्रै मिलाउने प्रयासमा रहेका मेडिकल सुपरिटन्डेन्ट डा. पिताम्बर ठाकुरले आफू मिटिङमा रहेको भन्दै विवाद प्रकरण बताउन चाहेनन् । अस्पतालभित्रको कर्मचारीको विवाद मिलाउन नसकेपछि वडा प्रहरी कार्यालय भद्रपुरमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्