झापा , भदौ २४ । समुदायमा कोरोना संक्रमण बढ्ने क्रममा झापामा आज ५ जना संक्रमित थपिएका छन् ।

थपिएका दुई महिला र तीन पुरुष सबै समुदायका हुन् । शिवसताक्षी नगरपालिकामा दुई महिलामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका ती महिला वडा नं ६ का हुन् । यसअघि भदौ २० गते संक्रमण देखिएका ३२ वर्षिय पुरुषका आफन्त आज संक्रमित भएका हुन् । अस्ति संक्रमित फलफूल व्यवसायीकी श्रीमती र भाउजुलाई समेत संक्रमण देखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । योसँगै शिवसताक्षीमा संक्रमितको सँख्या २२ पुगेको छ । त्यस्तै कनकाई नगरपालिकामा दुई पुरुषलाई संक्रमण पुष्टि भएको छ । राजधानीबाट घर आएका वडा नं २ का २० वर्षिय विद्यार्थीलाई संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए । अर्का वडा न. ३ का १४ वर्षिय किशोरले बाहिर नै परीक्षण गराएको उनले बताए । कनकाईमा कोरोनाबाट एक महिलाको मृत्यु हुनुका साथै संक्रमित हुनेको सँख्या ४८ पुगेको छ । त्यस्तै मेचीनगर नगरपालिका वडा नं ६ का एक ४७ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । योसँगै जिल्लामा संक्रमितको सँख्या ७१३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्