झापा , भदौ २५ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं १ सदस्य वेदराज रेग्मीलाई कोरोना संक्रमण भएको छ ।

झापा बाह्रदशी गाउँपालिका ५ निवासी रेग्मीको पिसिआर रिपोर्ट बिहीबार पोजिटिभ आएको हो । उनीसँगै बाह्रदशीका एक १२ वर्षिय बालकको रिपोर्ट पनि पोजिटिभ आएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकी कनकाई नगरपालिका ३ की ४५ वर्षिया महिलाको छोरालाई संक्रमण देखिएको हो । उनी बाह्रदशी ५ स्थित मावलमा बस्दै आएका थिए । महिलाको मृत्यु भएको भोलिपल्ट बाह्रदशी गाउँपालिकाले ती महिलाको माइतीघर र आसपासका गरी ७६ जनाका कन्ट्याक्ट टे«सिङ गरेको थियो । त्यसमध्ये ७२ जनाको रिपोर्ट बुधबार नेगेटिभ आएको थियो । बाँकी ४ जनामध्ये दुई जनाको रिपोर्ट बिहीबार पोजिटिभ आएको र दुईजनाको आउन बाँकी रहेको जनाइएको छ । संक्रमित रेग्मीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको उनका भतिज बाह्रदशी गाउँपालिकाका योजना अधिकृत तेजराज रेग्मीले बताए ।
त्यस्तै शिवसताक्षी नगरपालिका वडा न. ६ की कोरोना संक्रमण नभएकी एक महिलालाई संक्रमित ठहर गरिएको छ । बुधबार शिवसताक्षी ६ का ३२ र २६ वर्षिया महिलालाई कोरोना पोजिटिभ भएको उल्लेख गरिएको थियो । यसअघि भदौ २० गते संक्रमण देखिएका ३२ वर्षिय फलफूल व्यवसायीका परिवारका सदस्य संक्रमित भएको भनिएको थियो । फलफूल व्यवसायीकी २६ वर्षिया श्रीमती र ३२ वर्षिया भाउजुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय र शिवसताक्षी नगरपालिकाले जनाएका थिए । तर, ती फलफूल व्यवसायीकी भाउजुको रिपोर्ट पोजिटिभ आएको थिएन । प्रहरीले गलत रिपोर्ट दिँदा नेगेटिभ ब्यक्तिलाई पोजिटिभ भनिएको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन भट्टराईले बताए । उनले त्यसलाई बिहीबार सच्याइएको जानकारी दिए । यसैबीच बिहीबार शिवसताक्षी ६ मा दुई महिला र तीन पुरुष गरी पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ती संक्रमित फलफूल व्यवसायीका दाजु , भतिज , भतिजी र दुईजना छिमेकी रहेका छन् । शिवसताक्षी नगरपालिकाले बिहीबार ९७ जनाको स्वाब संकलन गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई संक्रमण देखिएपछि सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब लिइएको हो । क्वारेन्टाइनमा बसेका १२ पुरुष , ३ महिला , होम क्वारेन्टाइनमा बसेका ९ पुरुष , एक महिला , बाहिरका एक जना तथा नगरपालिकाका ४५ पुरुष र २६ महिलाको स्वाब संकलन गरिएको क्वारेन्टाइन प्रमुख भट्टराईले जानकारी दिए ।
त्यस्तै भद्रपुरमा बिहीबार २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भद्रपुरस्थित मेची क्याम्पसको होल्डीङ सेन्टरमा बसेका २ जना पुरुषमा कोरोना सक्रमण देखिएको हो । भारतीय नाकावाट नेपाल प्रवेश गरेका एक जना हेटौडाका २१ वर्षिय र अर्का मुगु निवासी ४७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको भद्रपुर नगरपालिकका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका वडा नं ६ का २५ र ५५ वर्षिय दुई पुरुषलाई संक्रमण देखिएको छ । उनीहरु स्थानीय समुदायका हुन् । त्यसैगरी दमक नगरपालिका वडा नं १० की भारतबाट आएकी २० वर्षिया युवतीलाई संक्रमण देखिएको छ । समुदायका ९ र भारतबाट फर्केका ३ गरी बिहीबार १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितहरुको सँख्या ७२५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्