झापा , भदौ २६ ।
युरिया मल नपाएको झोकमा अर्जुनधारा नगरपालिकामा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थामा एकजना व्यक्तिले आगजनी गर्ने प्रयास गरे । सहकारीमा आगजनी प्रयास गर्ने अर्जुनधारा—९ का देवी पौडेललाई प्रहरीले पक्राउ गर्योे । सहकारी संस्थाले युरिया मल बाँड्ने कार्यक्रम थियो ।मल नपाएको झोँक देखाउँदै उत्तेजित भएका पौडेलले सहकारी संस्थाका ब्यवस्थापकको कोठामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए । पौडेलले मल लिनका लागि अघिल्लो दिन नै नाम टिपाएको तर सहकारीले मल लिन आउँदा आफ्नो नाम नभएको सुनाएपछि आक्रोसमा आएको बताएका छन् ।

मल नपाएपछि गौरादहको आधा आकाश बचत तथा ऋण सहकारी संस्थामा किसानहरुले झण्डै कुटाकुट नै गरे । मल लिन भेला भएका करिव ७०० किसानलाई सहकारी संस्थाले १०—१० किलो मल दिन नसक्ने भएपछि उनीहरुले हुलदुंगा गरे । नसकेर सहकारीका सल्लाहकार हरिप्रसाद पाठकले मल विक्री बन्द गर्नु पर्यो । एक सातापछि थप ८३ बोरा मल थपेर उनले बल्ल प्रहरीको उपस्थितिमा विक्री गर्न सके ।

गरामनीको नवआवाज कृषि सहकारी संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसनबाट लगेको मल बाँड्न नसकी गोदाममा लगेर थन्क्यायो । ५० बोरा मल बाँड्न नसकेका सहकारी संस्थाका अध्यक्ष खेम पौडेलले आफ्नो सहकारीको भागको कोटा २७१ बोेरा मल एकैचोटी लगेर जनप्रतिनिधिहरुको रोहबरमा मुश्किलले किसानहरुलाई पुर्याए ।

कालिका सहकारीमा भएको घटना

युरिया मलले हाहाकार भएका किसानमाझ अपर्याप्त मात्रामा मल आउँदा भएका घटनाका यी केही उदाहरण मात्र हुन् । रोपेको धान पहेलिन लाग्दा समेत मल नपाएका किसानहरु आक्रोशित हुनु स्वाभाविक नै हो । सरकारका प्रधानमन्त्री र कृषिमन्त्रीसमक्ष भनाइ राख्न नसकेका सर्वसाधारण किसानहरुले त्यसको झोक सहकारी संस्थाहरुमाथि पोखेका हुन् । घण्टौसम्म लाइन लागेर पनि ५—१० किलो मल नपाउँदाको अबस्थामा किसानहरु आक्रोशित देखिएका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल लिएर गएका झापाका कुनै पनि डिलरले सहज ढंगले मल वितरण गर्न सकेका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनका ६८ र कृषि सामग्री संस्थानका ११ वटा डिलरले साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल लिएर विक्री गरेका छन् । ‘मलको लागि आफूले गाली नसुनेको दिन छैन’ साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडका प्रमुख देवराज भट्टराईले भने । सतरी प्रतिशत मलको जिम्मेवारी लिएको कृषि सामग्री संस्थानले धोका दिएपछि मलको समस्या आएको हो । तीस प्रतिशत मल विक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले सबै किसानलाई मल पुर्याउनु पर्दा समस्या आएको भट्टराईले बताए । मलको लागि नगर प्रमुखदेखि साँसदसम्मको फोन आएको उनले सुनाए ।

झापामा ४ हजार मेट्रिक टन अर्थात ८० हजार बोरा मल आबश्यक छ । त्यसमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले २५ सय मेट्रिक टन अर्थात ५० हजार बोरा मल मगाएको थियो । तर,अहिलेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनमा ८ हजार ४६५ बोरा मात्र आइपुगेको छ । त्यसमध्ये बिहीबारसम्म ८ हजार ३८८ बोरा विक्री भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले झापालाई ८ हजार १८८ , इलामलाई ३५, पाँचथरलाई १६५ र ताप्लेजुङलाई ३५ बोरा मल दिएको देखिन्छ । मल पाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका ६८ र कृषि सामग्री संस्थानका ११ वटा डिलर रहेका छन् । त्यस्तै कृषि ज्ञान केन्द्रको सिफारिसमा करिव २० वटा डिलरले १०—१० बोराको दरले मल लगेका छन् । कुनै सहकारी संस्थाले दुई पटक र कुनैले तीन पटक मल लिएर गएका छन् । एउटा सहकारी संस्थाको भागमा २७१ बोरा मल छुट्याइएको छ । सहकारी संस्थालाई कोटाको मल लिनका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले असोज ४ गतेसम्म पालो बनाइदिएको छ । त्यही पालो अनुसार मल दिने गरेको बिर्तामोड प्रमुख भट्टराईले बताए । अहिलेसम्म ८ हजार ४६५ बोरा आएकोमा जम्मा १८ हजार ४३२ बोरा मल आउने उनले बताए । जुन मागको तुलनामा २३ प्रतिशत मात्र हो । जिल्लाका किसानहरुको माग ८० हजार बोरा रहेको छ । आबश्यकता अनुसारको मल किसानहरुले नपाउने भएका हुन् । केहीले भारतीय मल प्रयोग गरेका छन् भने धेरैको धानबाली मलको अभावमा बिग्रिन लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्