मेचीनगर, भदौ २७ । अहिले झापा धुलाबारी माविको कक्षा ११ मा अध्ययनरत अरिस्ता परियारले गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेकी छन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि मेचीनगर ९ फारमटोल बस्ने अरिस्ताको जीवन संकटमा छ । अरिस्ताको जीवन बचाउन स्थानीय जुटेका छन् । उपचारका लागि आवश्यक खर्च जुटाउन, मिर्गौला दिने व्यक्ति खोज्न र प्रत्यारोपणका लागि आवश्यक प्रबन्ध मिलाउन अहिले जनस्तरमा अभियान चलाइएको छ । मेचीनगर नगरपालिका —९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा गठित अरिस्ता जीवन बचाउ अभियान सबै उपायको खोजीमा लागेको छ । अरिस्ताकी आमा लक्ष्मी परियारले हप्तामा दुई पटक डाईलोसिस गरिरहनु परेको बताइन् । अरिस्ताको आर्थिक अवस्था दयनीय छ । उनको मिर्गौला प्रत्यारोपण गर्न रकम यति नै लाग्छ भन्ने यकिन छैन । तर, लक्ष्मीले लाखौं खर्चिसकेकी छन् । ‘ अब हाम्रो सामथ्र्य नै रहेन’ गहभरि टिलपिल आँशु पार्दै लक्ष्मीले भनिन्,‘ हाम्रो भन्ने नै तपाईंहरु हो,कसरी हुन्छ अरिस्ता बचाइदिनु प¥यो ।’ मजदुरी गर्न भारत गएका अरिस्ताका बुबा पनि छोरी बिरामी भएपछि घर आएका छन् । छोरीको पीडा टुलुटुलु हेर्ने र छेउमा बसेर आँशु चुहाउने बाहेक उनमा अर्को सामथ्र्य नै छैन ।
अभियानका संयोजक खड्का समाजको सानो सहयोगले बालिकाको जीवन बाँच्न सक्ने भएकाले यथासक्य सहयोग गर्न सबैमा आग्रह गर्छन् । उनले ५० हजार रुपैयाँ दिएका छन् ।
अभियानका सहसंयोजक मेचीनगर १० का वडाध्यक्ष सुवेश पनेरु समाजका सबैलाई अभियानको सदस्यको रुपमा लागिदिन र अरिस्ताको जीवन बचाउने सर्वोत्तम मानवीय कार्यमा जुट्न आग्रह गर्छन् । उनले पनि सहयोग गरिसकेका छन् ।
अभियानका सचिव मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनालले अरिस्ताको उपचारका लागि हालसम्म २ लाख ४१ हजार सहयोगको प्रतिबद्धता आएको बताए । त्यसमा ५२ हजार प्राप्त भइसकेको छ । तर, अरिस्ताको उपचारका लागि २० लाख बढी लाग्ने चिकित्सकले बताएका छन् । मेचीनगर नगरपालिकाका सबै जनप्रतिनिधि अरिस्तालाई सहयोग गर्न लागेका छन् । जिल्लामा रहेका दलित संगठनहरुले समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यद्यपि, अरिस्ताको मिर्गौला प्रत्यारोपण गर्ने रकमको प्रबन्ध अझै भएको छैन । अरिस्ताको हप्तामा २ पटक भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा डाइलोसिस भइरहेको छ । एक पटकमा न्यूनतम १० हजार खर्च लाग्छ ।
चिकित्सकले ६ महिना अगाबै अरिस्ताको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने बताएपछि सो परिवार झनै दवावमा परेको छ । रकम संकलनका लागि एनएमबी बैंकको धुलाबारी शाखामा १७५०१४३०६९००००११ को खाता सञ्चालनमा ल्याइएको छ । अरिस्ताको परिवार उनी पढ्ने विद्यालय मेचीनगर क्षेत्रका वित्तीय तथा सामाजिक संघसंस्था गुहार्ने योजनामा छ। अभियानकर्ता र अरिस्ताको परिवारले सञ्चार क्षेत्र नलागे आफ्नो मात्रै केही नलाग्ने भन्दै आग्रह गरेका छन्,‘ तपाईंहरु लागिदिनोस्, तपाईंहरुको सहयोगले अरिस्ता बाँच्ने आधार तयार हुन्छ ।’ सञ्चार क्षेत्रसँगको यो भरोसा समाजप्रतिको अकन्टक विश्वास हो । यो विश्वासलाई धरमराउन नदिन सिंगो समाज जुट्नु पर्छ । यो नै अरिस्ता बचाउने सार्थक अभियान हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्