झापा , भदौ २८ । झापाको बिर्तामोड क्षेत्रका दर्जनबढी निजी विद्यालयले कक्षा ११ को नयाँ भर्ना खुला गरेका छन् ।

बिहीबारदेखि भर्ना खुला गरिएको न्यूटन्स एजुकेशन फाउण्डेसनका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए । फारम भर्न विद्यालयले तय गरेको अनलाइन विधि प्रयोग गर्नु पर्नेछ । एक—दुई दिनभित्र विद्यार्थीले विद्यालयमै उपस्थित भएर फारम भर्न सक्ने उनले बताए। असोज १२ गतेसम्म सबै विद्यालयले कक्षा ११ को फारम भराइसक्ने र १५ गतेबाट नियमित पढाइ हुनेछ । कक्षा १२ का विद्यार्थीले असोज ४ गतेसम्ममा विद्यालयमा अभिलेखीकरण गराउनु पर्नेछ । सरकारले तोकेको मापदण्ड पूरा गरी असोज ५ गतेदेखि अनलाइन विधिबाट कक्षा सञ्चालन गरिनेछ ।
सरकारले वैकल्पिक शिक्षण सिकाइलाई शैक्षिक सत्रको अंशका रुपमा समावेश गर्ने निर्णय गरेसँगै भर्ना खुलाउने सामूहिक छलफल गरेर विद्यालय सञ्चालकहरु अघि बढेका हुन् । अहिलेको हकमा मासिक शुल्क लिने योजना उनीहरूले बनाएका छन् । केही दिनभित्रै नगर शिक्षा शाखासँग बसेर विस्तृत योजना बनाउने र त्यसकै आधारमा अघि बढ्ने सोच उनीहरूको छ । नगर शिक्षा शाखाले तोकेको शुल्क र मापदण्डका आधारमा पठनपाठन सुरु गर्ने योजनामा आफूहरू रहेको निजी विद्यालय सञ्चालकहरु बताउँछन् । उनीहरूले विद्यार्थीलाई विद्यालयको अनलाइन कक्षामा समावेश गराउन अभिभावकसँग सामूहिक आव्हानसमेत गरेको हुमागाईंले बताए । कोरोना संक्रमणका कारण गत चैत ६ गतेदेखि सुनसान बनेका शिक्षण संस्थाहरु अब चलायमान हुने भएका छन् । झापामा यसको सुरुवात बिर्तामोडले गरेको हो ।बिर्तामोड नगरपालिका क्षेत्रमा माध्यमिक तहसम्म सञ्चालित १३ बढी संस्थागत विद्यालय छन् । त्यहाँ चार हजार विद्यार्थीले अध्ययन गर्ने तथ्यांक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्