हल्दीबारी , भदौ २८ । झापाको हल्दीबारी गाउँपालिकाले विगतको चालु खर्चमा भारी कटौती गरेको छ ।

चालु खर्च बढी भएको जनगुनासो आएपछि गाउँपालिकाले यस वर्ष त्यस खर्चमा ६५ लाख रुपैयाँ कटौती गरेको हो । कर्मचारीको भत्ता, इन्धन , कार्यक्रम खर्च , बैठक भत्ता , वडा कार्यालयहरुको मसलन्द खर्च घटाइएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले अनाबश्यक खर्चलाई यस वर्षको बजेटबाट कतिपयलाई पुरै हटाएको र कतिपयलाई घटाएको बताए । गाउँपालिका कार्यालयले प्रत्येक वडा कार्यालयहरुलाई चिया नास्तावापत् मासिक रुपमा २५ हजार रुपैयाँ बजेट दिदै आएको थियो । त्यो खर्च पुरै हटाइएको छ । मासिक १ लाख २५ हजार रुपैयाँका दरले पाँचवटा वडा कार्यालयको मसलन्द खर्च जम्मा १५ लाख रुपैयाँ जोगिएको उपाध्यक्ष गिरीले बताए । खर्च कटौतीबाट वडा कार्यालयमा आउने सेवाग्राहीहरुलाई चिया खुवाउन नसक्दा समस्या देखिएपनि त्यो निर्णय जनताको हितमा भएको हल्दीबारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । उनले अहिलेको बेला सबै स्थानीय तहहरुले घाटाको बजेट बनाउनु पर्ने अबस्थामा त्यस्ता फजुल खर्च घटाउन आबश्यक रहेको प्रतिक्रिया दिए । त्यस्तै कर्मचारीहरुले पाउँदै आएको प्रोत्साहन भत्ता पनि कटौती गरिएको छ । कर्मचारीको प्रोत्साहन भत्तामा २० लाख रुपैयाँ घटाइएको हो । कोरोना भाइरसको महामारीका कारण कर्मचारीहरुको प्रोत्साहन भत्ता कटौती गरिएको उपाध्यक्ष गिरीले बताए । त्यसैगरी गाउँपालिका कार्यालयले इन्धन खर्चमा भारी कटौती गरेको छ । गाउँपालिका कार्यालयबाट इन्धनको नाममा खर्च दोहन गर्ने प्रवृति हटाउन चाहिने मात्रामा इन्धन पदाधिकारी र कर्मचारीहरुलाई दिने निर्णय गरिएको छ । पदाधिकारीहरुलाई इन्धन खर्च १० लाख दिदै आएकोमा त्यो पुरै हटाइएको गिरीले बताए । त्यस्तै कार्यालयको इन्धन खर्चमा १० लाख रुपैयाँ कटौती गरिएको छ । त्यस्तै अनाबश्यक कार्यक्रम खर्च ५ लाख , कर्मचारी र पदाधिकारीहरुको बैठक भत्ता ५ लाख रुपैयाँ घटाइएको छ । गत वर्ष हल्दीबारी गाउँपालिकाको चालु खर्च ५ करोड रहेको थियो । यस वर्ष त्यसलाई ४ करोड ३५ लाख रुपैयाँमा झारिएको छ । हल्दीबारी गाउँपालिकाले यस वर्ष गाउँपालिकाबाट निर्णय गर्नसक्ने २९ करोड ६४ लाख ७३ हजार , गाउँपालिकामार्फत सशर्त अनुदान १६ करोड ८४ लाख , सामाजिक सुरक्षा वापत ९ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ । विजय इङनाम गएपछि करिव एक महिना प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हल्दीबारी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रवीण दाहाल आएका छन् । गौरीगञ्ज गाउँपालिकाबाट आएका दाहालले बिहीबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् । भद्रपुर पुथ्वीनगर निवासी दाहालले सबै पक्षलाई मिलाएर सन्तुलित रुपमा समन्वयकारी भूमिका आफूले निर्वाह गर्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्