द्रोण अधिकारी,
भद्रपुर । नेपाली समाजले कृषि र पशुपालन व्यवसायलाई उन्नत कार्यका रूपमा हेर्दैन । यी दुई व्यवसाय नै देशको समृद्धि हो भन्ने नबुझेको यस समाजमा कृषि र पशुपालनको माध्यमबाट समृद्धिको सहज यात्रा तय गर्ने हिम्मत कमैले लिएका हुन्छन् । शरीरमा बल र मस्तिकमा बुद्धि पसेपछि अधिकांस नेपाली युवा सुनौलो भविष्यको खोजी गर्न भन्दै परदेशको माटोमा दौडन्छन् । अधिकांस युवा स्वदेशमा अवसर र सुनौलो भविष्य नदेखेर विदेश मोहमा दौडेका हुन् । तर, आफ्नै जन्मभूमिमा बसेर भविष्य सुनौलो बनाउन सकिने सोच पालेका थोरै युवाहरूको रगत पसिना समृद्ध नेपालका लागि ईटा सावित भएका केही नमूना पनि छन् । यस्ता परिश्रमी युवाका सफलताका कथा विरलै सुन्न र देख्न पाइन्छन् ।

यस्तै युवाहरू मध्येमा रहेका झापा अर्जुनधारा ९ शनिश्चरेका युवा कमल कडरियाको ४ वर्षयताको उन्नत बाख्रापालन व्यवसायलाई नमुनाका रूपमा हेर्न सकिन्छ । १० वटा ५० प्रतिशतका बोयर जातका बाख्रा र एउटा १०० प्रतिशतको बोयर बोकाबाट उन्नत बाख्रापालन सुरू गरेका कडरियाले व्यवसाय बढाउँदै ५० लाखबढीको उन्नत बाख्रा फार्म निर्माण गरिसकेका छन् ।
उनका उमेरका अधिकांस युवा विदेशमा रोजगारीमा छन् । उनलाई पनि बाख्रापालन सुरू गर्दा आफन्त तथा साथीभाइले उभो नलाग्ने व्यवसाय भनेर निरुत्साहित गर्नेको लामै ताँती थियो ।तर, स्वदेशमै बसेर केही न केही व्यवसायमार्फत समृद्धिको बाटो बनाउने सपना पालेका कडरियाले कृषिभित्र पर्ने पशुपालनको माध्यम समातेर ४ वर्षमा उन्नतिको पथ निर्माण गरिसकेका छन् ।
आर.के एग्रीकल्चर नाम दिएर स्वरोजगार गरिरहेका कमल परम्परागत शैलीभन्दा केही भिन्न विधि अपनाएर उन्नत बाख्रापालनमा जुटेका छन् । उनले घाँस र दाना दुवैमा आधारित बाख्रापालन गरिरहेका छन् । ६० वटा बाख्रा रहेको उनको फार्ममा ४ जनाको रोजगारी सुनिश्चित भएको छ । अहिले उनका फार्ममा ६५ प्रतिशत ७५ प्रतिशत, ८७ प्रतिशत र शतप्रतिशत गरी ४ किसिमका उन्नत बोयर जातका बाख्रा छन् ।

राज्यबाट कुनै साथ र सहयोग नपाएको कडरियाको फार्मबाट उत्पादित पाठापाठीको प्रतिशतका आधारमा मूल्य समेत तोकिएको छ । जसअनुसार ५० प्रतिशतका बोकाको प्रतिकेजी १५ सय, पाठी १२ सय, ७५ प्रतिशतका लागि बोकाको २५ सय, पाठीको २ हजार, ८७ प्रतिशतका लागि बोकाको ३५ सय, पाठीको २५ सय मूल्य तोकेर बिक्री समेत गर्ने गरेका छन् ।
कडरियाको बाख्रापालनबाट ४ जना पूर्णरूपमा रोजगार छन् भने कृषि र पशुपालनमा भविष्य नदेख्नेका लागि मेहनत गरे उन्नति गर्न सकिने उदाहरण समेत निर्माण भएको छ । उनी आफ्नै देशमा बसेर पनि राम्रो उन्नति गर्न सकिने बताउँदै नाम र दाम कमाउन विदेश धाउनु नपर्ने धारणा राख्छन् ।एउटा व्यक्तिको प्रयासमा राज्यको सहयोग पनि मिसिने हो भने व्यावसायिक उन्नतिले समाज रूपान्तरणमा छिटो गति लिने विश्वास राख्ने कडरिया नमूना बाख्रापालन फारम निर्माणको चरणमा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्