झापा , असोज १ । दमक हस्पिटलका कर्मचारी र उनका परिवारका तीन सदस्यसहित झापामा आज १० जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा ५ महिला र ५ पुरुष रहेका छन् ।

दमक नगरपालिका वडा न. ५ का ५ महिला र एक पुरुषलाई संक्रमण देखिएको हो । दमक हस्पिटलमा कार्यरत कार्यालय सहयोगी महिला र उनका परिवारका तीन जनालाई संक्रमण पुष्टि भएको दमक नगरपालिकाले जनाएको छ ।
यसैबीच दमक नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । सो शाखामा कार्यरत सबै कर्मचारीहरु आइसोलेसनमा छन् । गत भाद्र २६ गते नमुनाको परिक्षण गर्दा ती कर्मचारीमा कोरोना देखिएको हो ।
कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारीहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।त्यस्तै मेचीनगर नगरपालिकामा ४ पुरुषलाई संक्रमण पुष्टि भएको छ ।मेचीनगर नगरपालिका ११ का १ जना र अन्य तीनजना बाहिर जिल्लाका भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका नवीन बरालले बताए । योसँगै झापामा संक्रमितको सँख्या ७८० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्