बिर्तामोड, असोज २ । चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ ।

चिया क्षेत्रसम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघबीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो ।
संवाद समूहको संयोजनमा उत्पादक संघ र तीनवटै ट्रेड युनियनबीच भएको सहमति शुक्रबार संयुक्तरुपमा सार्वजनिक गरिएको हो ।
यस्तो छ सहमति–
१. चिया बगानमा काम गर्ने कामदार तथा कर्मचारीहरुको दैनिक आधारभूत पारिश्रमिक रु. २३१।– मा दैनिक रु. ५० (पचास मात्र) वृद्धि गर्ने, उक्त वृद्धि गरिएको रकम यस वर्ष २०७७ साउन १ गते देखि लागू हुनेगरी दैनिक रु. ३०÷– र २०७८ साउन १ गतेदेखि दैनिक रु. २०÷– लागू हुनेगरी नेपाल सरकारलाई सिफारिस गर्ने सहमति गरियो । साथै चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाईके, वहिदार र चौकीदारको ज्यालाका अतिरिक्त दैनिक भत्ता रु. ४२÷–मा रु. १३÷– वृद्धि गरी दैनिक रु. ५५÷– कायम गर्ने सहमति गरियो ।
२. २०७५ साउन १ गते देखि लागू हुनेगरी वृद्धि भएको दैनिक रु. १०७÷–२०७५ साउन १ गते देखि २०७५ चैत १५ गतेसम्मको फरक रकम सो समयमा कार्यरत रहेका श्रमिकहरुलाई भुक्तानी गर्दै गरेका बिषयलाई निरन्तरता दिई भुक्तानी दिइ लिइ सक्ने सहमति गरियो ।
३. श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा भएको व्यवस्थाहरु सवै चिया बगानमा कार्यान्वयन गर्दै जाने ।
४. हाल विश्वलाई आतंकित बनाईरहेको कोरोना भाईरसबाट बच्न बचाउन आवश्यक नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरी सुरक्षाको व्यवस्था प्रतिष्ठानको तर्फबाट गर्ने, श्रमिकहरुले पनि आफ्नो सजगता अपनाउने सहमति गरियो । साथै अन्य चियासम्बन्धी बिषयमा निरन्तर छलफल गर्दै जाने सहमति गरियो ।

पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमति अनुसारको ज्याला राजपत्रमा प्रकाशित हुने छ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागू हुनेछ । सहमति सार्वजनिक समारोहमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेशकुमार अग्रवाल र चण्डी पराजुलीले धारणा राखेका थिए ।
ट्रेड युनियनको तर्फबाट भूपाल सापकोटा, दीपक तामाङले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए । सहमतिमा उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेसकुमार अग्रवाल, जे.पि. शर्मा, चण्डी पराजुली, विनय गोयल , रमेश पराजुलीले हस्ताक्षर गरेका छन् । ट्रेड युनियनको तर्फबाट सहीकुमार राई – (फापुन), सन्तकुमार राई , नेत्रप्रसाद दाहाल, दिपक तामाङ्ग (ने.चि.ब श्र.संघ),मिलन राई, जीवन खड्का, सीता सापकोटा (अ.ने.चि.म.संघ), भूपाल सापकोटा, तिलक दर्जी,देवीप्रसाद खनालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल टे«ड युनियन कांग्रेसका यज्ञप्रताप अधिकारी, जिफन्ट प्रदेश समितिका अम्बिरकुमार लिङदेन तथा चिया उत्पादक संघका राजेन्द्र सिंहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्