भद्रपुर, असोज २ । प्रदेश १ कै पहिलो बालमैत्री नगरको इतिहास रच्न कसिएको भद्रपुर नगरपालिकाले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिएको छ ।

बालमैत्री नगर घोषित हुन १७ वटा चरण पार गर्दै ३९ वटा सूचकको ८० प्रतिशत प्रगति पूरा हुनु पर्ने मापदण्ड पूरा गरिसकेको नगरपालिकाले अझ व्यापक प्रगतिका लागि सञ्चारकर्मीसित सुझाव लिँदै अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नगरको प्रगति विवरण पेस गर्दै बालमैत्री अभियन्ता सुमन ढकालले जन्म दर्ता र शुद्ध पिउने पानीको पहुँच सूचक पूरा गर्न बाँकी रहेको भएपनि अन्य सूचक पार गरिसकेको बताए ।
कार्यक्रममा भद्रपुर बाल सञ्जालकी अध्यक्ष आरोध्या प्याकुरेलले बालबालिका भविश्यका कर्णधार मात्र नभएर वर्तमानको साझेदार भएकोले नीतिगत रूपमै नगरपालिका बालमैत्री अभियानमा लागेकोमा खुसी व्यक्त गरिन् ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पूर्वाधार विकासमा गरिएको अरबौं लगानीभन्दा उन्नतशील मानवीय सभ्यता निर्माणका लागि गरिने लाखौं लगानी दीर्घकालिन विकास बन्न सक्ने सोचेर बालमैत्री नगर निर्माणमा जुटेको प्रष्ट पारेका छन् । प्रमुख श्रेष्ठले सुन्दर भविष्य निर्माणको परिकल्पना गर्ने हो भने असल नागरिक बन्ने आधार तयार पारेर हिड्न सक्नु पर्छ भन्दै बालमैत्री नगर निर्माणमा सञ्चार जगतको भूमिका अपरिहार्य रहेको बताए ।
नगरपालिकाकी प्रेस संयोजक गंगा बरालले सञ्चालन गरेको कार्यक्रम बालमैत्री सरोकारवाला निकायका सदस्य सञ्चारकर्मी दीपक अधिकारीको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, पत्रकार महासंघ झापाका सभापति तारामणि सापकोटा लगायतले मन्तव्य राख्दै दीर्घकालिन विकासका रूपमा बालमैत्री नगर निर्माण गर्न देखिएका समस्या हल गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्