भद्रपुर, असोेज ३ ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला भेलाले २०७७ बैशाखदेखि भदौ महिनासम्मको शिक्षक कर्मचारीको तलव सम्बन्धी सहमति नभएसम्म विद्यालय सञ्चालनका गतिविधि हुन नदिने निर्णय गरेको छ ।

केन्द्रीय प्याब्सनले इस्टु केन्द्रीय समितिसित गरेको सहमति झापा जिल्लामा कार्यान्वयनको सुनिश्चित नभएसम्म विद्यालय सञ्चालनमा हतारो नगर्न सञ्चालकहरूलाई अनुरोध समेत गरेको छ ।
जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षतामा सम्पन्न भेलाले विद्यालय सञ्चालकहरू राज्यको प्रचलित नीति नियम विपरित चलेको ठहर गर्दै कानुनी उपचारका लागि श्रम अदालत जाने निर्णय समेत गरेको छ । सो निर्णय अनुसार शिक्षक कर्मचारीका प्रचलित कानुन अनुसारका मागको बेवास्ता गरेर जवरजस्ती विद्यालय सञ्चालन गर्ने प्रयास गरे प्रतिकारमा उत्रने, शिक्षक कर्मचारीले आ आफ्ना पालिका शिक्षा शाखा घेराउ गर्ने, गएको शैक्षिक वर्षकै तलव नदिने विद्यालय तथा सञ्चालकको नाम सार्वजनिक गरेर भण्डाफोर गर्ने, नियम विपरित सञ्चालनमा आएका विद्यालयमा तालाबन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै इस्टुका केन्द्रीय समिति सदस्य एन पी लामिछानेले कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका विद्यालयहरूले ५ महिनाको तलव दिन्न भन्नु कानुनी कारवाहीमा पर्नु हो भन्दै अविलम्ब बैशाख यताको तलव निकाशाका लागि तयार रहन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीले सडक छेउमा घुम्ती किराना पसल चलाए शैलीमा खोलिएका मापदण्ड विपरितका सवै विद्यालय बन्द गर्नु पर्ने भन्दै नाफा कमाउँदा एक्लै खानेले कम्पनी रहुञ्जेल मातहतका कर्मचारीलाई तलब दिन्न भन्ने अधिकार कुन ऐनमा रहेको प्रश्न गरे । मोरङ अध्यक्ष मनोज खनालले राज्यले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको अस्तित्व स्वीकार नगरेको भन्दै आन्दोलनको आँधीबेरी सिर्जना गरेर अराजक सञ्चालक तथा लाचार सरकारका कार्यशैली समाप्त गर्नु पर्ने धारणा व्यक्त गरे ।झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले पालिका समिति आफैमा स्वायत्त रहेको जानकारी दिँदै झापा जिल्लाभरका पालिकाले राखेका माग अविलम्ब पूरा गर्न विद्यालय सञ्चालकहरूलाई अनुरोध गरे ।
यसैबीच इस्टु भद्रपुर नगर समितिले राखेको तीन महिनाको तलव भुक्तानीको माग २ दिनभित्र विद्यालयहरूले सम्बोधन नगरे तालाबन्दी गर्ने कार्यक्रमलाई अनुमोदन गर्दै भद्रपुर प्याब्सन नेतृत्वलाई तत्काल समस्या हल गर्न सुझाएको छ । इस्टुका माग बेवास्ता गरेर नगर प्याब्सन तथा विद्यालय सञ्चालक अगाडि बढे आइपर्ने समस्याको क्षति व्यहोर्न तयार हुन चेतावनी समेत दिइएको छ ।
यसैबीच संस्थागत विद्यालय शिक्षक युनियन झापा जिल्ला भेलाले शैक्षिक वर्ष २०७७ बैशाखदेखि भदौसम्मको तलव भुक्तानीका लागि जिल्ला प्याब्सन झापासित वार्ता गर्न केन्द्रीय सदस्य बालकृण दाहालको नेतृत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्