बिर्तामोड असोज, ४ । झापा दमकको मानसरोवर कृषि सहकारी संस्थाले जिल्लामा नै पहिलो पटक व्यवसायीक रुपमा बेसार खेती शुरु गरेको छ । सहकारीले यस वर्ष १ विगाहमा बेसार लगाएको जनाएको छ ।


बेसारबाट राम्रो आम्दानी हुने भएकाले यस वर्षबाट बेसार खेती शुरु गरेको सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले बताए । “हामीले यस वर्षदेखि बेसार खेती शुरु गरेका हौँ” अधिकारीले भने, “१ विगाहमा लोकल बेसार लगाएका छौँ ।” आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती रोजाइमा परेको अधिकारी बताउँछन् । आगामी वर्ष बेसार खेती विस्तार गर्ने योजना बनाएको अधिकारीले जानकारी दिए । “सहकारीका अन्य सदस्यलाई पनि बेसार खेती गर्न उन्मुख गर्ने छौँ” अधिकारीले भने, “उत्पादित बेसार झापाकै बजारमा बिक्री हुन्छ ।” अहिले तयारी बेसारको बजार मूल्य ३ सय देखि ३ सय ५० सम्म रहेको छ ।

झापामा २ सय हेक्टरमा बेसार खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए । उक्त क्षेत्रमा १ हजार ६ सय ४० मेट्रिक टन बेसार उत्पादन हुने प्रमुख सिंह बताउँछन् । “उत्पादन भएको सबै बेसार घरायाशी प्रयोजनका लागि उपभोग हुन्छ” सिंहले भने, “व्यवसायीक रुपमा खेती शुरु गरेको मानसरोवरले नै हो ।” झापाको बुद्धशान्ति गाउँपालिका –२, ३ , अर्जुनधारा नगरपालिका –४, ५ र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा बेसार उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्र झापा द्वारा सञ्चालित प्राङगरिक कृषि प्रवद्र्धन कार्याक्रम अन्र्तगत बेसार खेती शुरु भएको ज्ञान केन्द्र झापाका अधिकृत अंकित भट्टराईले बताए । सहकारीले बेसारसँगै यस वर्ष १–१ विगाहमा केरा र मेवा खेती पनि शुरु गरेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्