युएई , असोज ६ । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ ।

आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् ।
झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रीता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा , दूतावासका कर्मचारी, नेपाली समुदाय र पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।
झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागू गरेको संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा नेपालको संविधान रहेको बताइन् ।
संविधानको सम्मान र पालना गर्दै यसलाई राष्ट्रिय दिवसको रूपमा पनि मनाउन थालिएको बताउदै धितालले यही खुशियालीमा राजदुतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिइन् ।
संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै निःशुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभुति गरेको उनले बताइन् । उनले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुशियाली साटासाट गरेको जानकारी दिइन् ।
कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशील संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए ।
कोरोनाको कहरका कारण नेपालको महत्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे । सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवारलाई धन्यवाद दिए । नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्