झापा, असोज ५ । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । अस्पतालमा कार्यरत दुई जना चिकित्सक र १० जना नर्सिङ स्टाफले सोमबार कोरोना जितेर बिदाइ भएका हुन् । गत भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पताल प्रशासनले आफ्नै आइसोलेशनमा राखेर उपचार शुरु गरेको थियो ।


कोरोनामुक्त चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालले एक कार्यक्रमको आयोजना गरी फूलगुच्छा र खादा पहिर्याएर बधाई दिएको छ । विएण्डसीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पताललकै आइसोलेशनमा राख्दा कतिपयले बजारमा अफवाह फैलाएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बताए । “हामीले हाम्रा स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेशनमा राखेर कोरोनामुक्त बनाउन सफल भयौँ” प्रसाईंले भने कोरोनालाई हाउगुजी नसम्झौँ, कोरोनासँगै जिवनयापन गर्न सिकौँ ।” कोरोनाका संक्रमितलाई उपचार गर्न कोभिड अस्पतालमा नै पुर्याउनु पर्छ भन्ने भ्रमको अन्त्य गर्न पनि विएण्डसीमा कोरोना संक्रमितको उपचार गरिएको प्रसाईँ बताउँछन् । अब अस्पतालबाटै अरु कोरोना संक्रमितको उपचार सम्भव रहेको उनले बताए ।


कोरोना मुक्त डा.राजेश रायाले १५ दिनको अस्पताल बसाईमा कसैलाई पनि कोरोनाको कुनै लक्षण देखा नपरेको बताए । “हामीसबै सबैजना अस्पतालको आइसोलेशनमा बस्यौँ, १–२जनाले सामान्य ज्वरोको ट्याब्लेट १–२ पटक खायौँ कसैलाई पनि कुनै समस्यादेखा परेन ।” १५ दिनसम्म सबैको अवस्था सामान्य रहेको संक्रमितको उपचारमा संलग्न डा.लक्ष्मण ठाकुर बताए । कोरोनामुक्त भएका सबै चिकित्सक पुनः काममा फर्कने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्