झापा ,असोज ५ । आइतबार राति आएको हावाहुरीले धान बालीमा क्षति पुगेको छ । किसानका पसाउन लागेको अगुवा धानलाई हावाहुरीले क्षति पु¥याएको हो ।

हावाहुरीले आफ्नो दाईको करिव ५ कठ्ठाको पसाउन लागेको धान लडेको बिर्तामोड नगरपालिका ३ का विनोद पाठकले बताए । उनले त्यहाँका अन्य किसानहरुको धान बालीमा समेत असर पुगेको जानकारी दिए । १ सय ३५ दिनमा पाक्ने खालको धानमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए । हर्दिनाथ– १, मन्सुली , असारमा रोपेको रंजितजस्ता धान हावाले लडाएको हो । हावाहुरीले के कति क्षति भयो भन्ने तथ्यांक संकलन भइनसकेको र त्यसका लागि स्थानीय तहहरुलाई सम्पर्क गरिरहेको कार्यालय प्रमुख सिंहले जानकारी दिए । पर्याप्त वर्षा भएका कारण यस वर्ष झापामा शतप्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्