झापा, असोज ६ । प्रदेश– १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद संक्रमितको स्वाब परीक्षण गर्न मोबाइल भेइकल (भ्यान) सञ्चालन गर्न थालिएको छ । महानगरमा दैनिक संक्रमितको संख्या बढ्न थालेपछि खासगरी अधिकस संख्याको नमूना लिन सम्बन्धित ठाउँमै गएर लिने व्यवस्था गरिएको बताइएको छ । अहिले महानगरमा १५ सयभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । महानगरले आफैं आइसोलेसन सञ्चालन गरी संक्रमितको उपचार गरिरहेको छ ।


विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार स्थानीय साधन(स्रोत प्रयोगबाट अत्याधुनिक र सुविधा–सम्पन्न मोबाइल स्वाब भ्यान निर्माण गरिएको हो । महानगर र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भ्यान निर्माण भएको उनले बताए । ‘नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख रुपैयाँमा मोबाइल स्वाब भ्यानको निर्माण गरेको छ । भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ । पीसीआर र आरडीटी गर्न अत्यन्त सहज भएको छ’ पराजुलीले भने । रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाएको उक्त मोबाइल स्वाब भ्यान स्वाब संकलन गर्न प्रयोगमा आइसकेको छ ।

महानगरका विभिन्न ठाउँमा लगेर भ्यानले वृद्ध ,बालबालिका, अपाङ्ग तथा सुत्केरीलाई सेवा दिने बताइएको छ । भ्यानले शनिबारबाटै सेवा प्रवाह गर्न थालेको हो । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख प्रमुख रमेश कार्कीले सेवा प्रवाह अझ सहज हुने बताए । ‘स्वाब संकलन गर्न एकै स्थानमा मानिसहरुलाई बोलाइँदा भिड हुने र भौतिक दूरी कायम गराउनसमेत कठिनाइ भएपछि भ्यानबाट गर्ने प्रबन्ध गरिएको हो’ उनले भने । उनले विराटनगरमा संक्रमित थपिएसंगै स्वाब संकलन गर्ने र परीक्षण गराउन दबाबसमेत बढेको सुनाए ।

महानगरले केहीअघि दुईवटा मेसिन निजी क्षेत्रसमेको सहयोगमा खरिद गरी कोसी अस्पताललाई हस्तान्तरण गरेको छ । स्वचालित मेसिन भएकाले अहिले परीक्षण दरसमेत बढेको कार्कीले जानकारी दिए । विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल र डा. प्रज्वल खतिवडाले भने निर्माणको प्राविधिक पाटोमा सहयोग गरेका महानगरले जनाएको छ । रोटरी क्लव अफ विराटनगरका अध्यक्ष डा. विजु थपलियाले अहिले विराटनगरमा संक्रमित थपिने क्रमसँगै स्वाब संकलन गर्ने दबाब भएकाले पनि सहयोग गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्