हल्दीबारी , असोज ८ । हल्दीबारीमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरी करिव ३०० जना युवा नेकपामा प्रवेश गरेका छन् ।

नेकपामा प्रवेश गर्नेहरुमा हल्दीबारी—४ निबासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे सहित १०० जना, हल्दीबारी—२ का कबड्डीकै राष्ट्रिय खेलाडी खड्ग राजवंशीसहित १०० जना, हल्दीबारी—४ का फुटबल खेलाडी सन्तोष मादेनसहित ५० जना र हल्दीबारी—३ का सामाजिक अभियन्ता अभिषेक खतिवडा र बिजय मेचेसहित ५० जना युवा आज औपचारिक रुपमा नेकपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवम् क्षेत्र न.३ ‘ख’ का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मीलगायतले टीका र खादा लगाइदिएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिस्ट पार्टी कस्तो हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पारेको बताए । उनले हल्दीबारीमा नेकपाको अगुवाइमा भइरहेका विकासका गतिविधिबाट तर्सिएर काँग्रस र राप्रपा कुप्रचारमा उत्रिएको आरोप लगाए । उनले नेकपाले नवप्रवेशी सबै युवाहरुलाई योग्यता र क्षमताको आधारमा व्यवस्थापन गर्ने आश्वासन दिए ।
नेकपा हल्दीबारी—३ का इन्चार्ज विष्णुप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका सदस्य सागर पोर्तेलले गरेका थिए भने नेकपा हल्दीबारीका कार्यालय सदस्य महेशलाल मेचेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्