झापा ,असोज ८ । प्रदेश सांसद वृख प्रधानको ‘संलग्नता’मा झापा अर्जुनधारा ११ को सुखानी शहीद स्मृति पार्कमा काटिएको रुखका बारेमा वन कार्यालयले कानुनी कार्वाही थालेको छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठानको पार्कमा रहेका तीनवटा सिसौका रुखहरु असोज ५ गते गैरकानुनी रुपमा काटिएका थिए । विना अनुमति गैरकानुनी ढंगले रुख काटिएको घटनाका विषयमा वन कार्यालयले सुखानी शहीद स्मृति प्रतिष्ठानमाथि कार्वाही अगाडि बढाएको हो । डिभिजन वन कार्यालय भद्रपुरले कनकाई सव–डिभिजन कार्यालय सुरुङ्गाका प्रमुख नथुनी गुह्यारी यादवलाई जाँचबुझ गर्न आदेश दिएको छ । त्यस आदेशअनुसार कनकाई सव–डिभिजन कार्यालयले घटनाको स्थलगत निरीक्षण गरी सुखानी शहीद स्मृति प्रतिष्ठानलाई के कसरी ती रुख काटियो भन्ने जवाफ दिन स्पष्टीकरण सोधेको छ । ‘घटनाको वास्तविकता के हो ? क–कसको संलग्नतामा ती रुख काटिए भनेर हामीले प्रतिष्ठानलाई पत्र पठाएका छौं’कनकाई सव–डिभिजन कार्यालयका रेन्जर राजेश घिमिरेले भने । उनले यथाशिघ्र त्यसको जवाफ पठाउन प्रतिष्ठानलाई भनिएको जानकारी दिए । काटिएका तीनवटा रुखमध्ये एउटालाई गोलिया पारेर प्रतिष्ठानमा लगेको र अरु दुईवटा काटेर फिल्डमै राखेको अबस्थामा आफूहरुले ती काठ फेला पारेको बताउँदै उनले काटिएका काठको परिमाण ४४.६ क्यूफिट रहेको जनाए । बरामद गरिएका काठ प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीको जिम्मामा छोडिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्