गौरीगञ्ज, असोज १० । चौथो र छैठौ गाउँसभामा आफैंले गरेको निर्णयले उपभोक्ता समितिलाई ५ लाख भन्दाबढीको योजना दिन रोकेपछि नीतिगत त्रुटी सच्याउन गौरीगञ्ज गाउँपालिकाले सातौ विशेष गाउँसभा शुक्रबार सम्पन्न गरेको छ ।

४९ लाख ९९ हजार ९ सय ९९ रुपैंयाँसम्मको योजना उपभोक्ता समितिमार्फत सम्पन्न गर्ने, गौरीगञ्ज क्याम्पस सञ्चालनार्थ ५ लाख र सडक मर्मत सम्भारका लागि ५ लाख रुपैयाँ बिनियोजन गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै सातौ गाउँसभा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले बताए । यद्यपि सभाको अन्तिम घडीमा आएर केही वडा सदस्यहरुले सभा बहिस्कार गरेका थिए ।
अघिल्लो गाउँसभामा ५ लाखसम्मको मात्र योजनाहरु उपभोक्ता समितिलाई दिने निर्णय भएकोमा अचानक ५० लाखसम्मको योजना उपभोक्ता समितिलाई दिनुको औचित्य स्पष्ट पार्नु पर्ने, कोभिड १९ रोकथामका लागि गरिएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने, नदी तटबन्धलगायतका विपद् व्यवस्थापनका लागि छलफल गर्न गाउँसभा केही दिन लम्ब्याउनु पर्नेलगायतका माग राखेकोमा सम्बोधन नभएपछि आफूहरु सभा बहिस्कार गरी बाहिरिएको एक वडा सदस्यले बताए । बहिस्कार गरेर सभाहलबाट बाहिरिएपछि पनि उपस्थिति खातामा आफूहरुले गरेको हस्ताक्षरलाई आधार मानेर अध्यक्ष र वडाध्यक्षहरुले जबरजस्ती प्रस्ताव पारित गरेको आरोप उनीहरुले लगाएका छन् ।
उद्घाटन सत्रमा बोल्दै वडा सदस्य उदिम राईले सभा बस्नु एक हप्ता अगावै छलफलमा लगिने प्रस्ताव तथा योजनाहरु सदस्यहरुलाई बाँडिनु पर्नेमा ऐन नियम विपरित गाउँसभा डाकिएको आरोप लगाए । शाखा अधिकृत वीरेन्द्र खड्काले कर्मचारी र जनप्रतिनिधिहरुबीच एक आपसमा सहकार्य नभइ कुनै पनि स्थानीय तह सफल हुन नसक्ने बताएका थिए । वडाध्यक्ष कार्तिकलाल राजवंशी र मखना महतोले अघिल्ला गाउँसभाहरुमा छलफल भएको बिषय र प्रस्ताव समेत निर्णय पुस्तिकामा नलेखिने गरेको आरोप लगाएका थिए ।
उद्घाटन सत्र समापन गर्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले कतिपय छलफलका विषयहरु निर्णय पुस्तिकामा लेख्न कानुनले छेक्ने गरेकाले त्यस्ता प्रस्तावहरु निर्णय पुस्तिकामा छुटेको हुन सक्ने बताए । शाखा अधिकृत नारायण चँदाराले सहजीकरण गरेको उद्घाटन सत्रमा उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत मन्तब्य राखेका थिए भने महिला सदस्यहरुका तर्फबाट वडा सदस्य रीता तामाङले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्