झापा, असोज ११। बिर्तामोडकी एक ९० वर्षिया बृद्धासहित झापामा आज समुदायमा तीनजना संक्रमित थपिएका छन् । थपिनेमा बिर्तामोड नगरपालिका वडा न. १ की ९० वर्षिया बृद्धा रहेकी छन् ।

कन्ट्याक्ट ट्रेसिङको आधारमा गरिएको पिसिआर परीक्षणमा ती बृद्धालाई संक्रमण पुष्टि भएको हो । उनी झापा गाउँपालिकामा रहेका आफन्तकहाँ गएकी थिइन् । आफन्तलाई संक्रमण देखिएपछि उनलाई कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । त्यस्तै अर्जुनधारा नगरपालिका वडा नं ३ का ६१ वर्षिय बृद्धमा पनि संक्रमण देखिएको छ । उनी उपचारका लागि धरान गएका बेला संक्रमण पुष्टि भएको हो । ती संक्रमित बृद्ध बिर्तामोडका ३ र भद्रपुरका एक हस्पिटलमा उपचार गराउन गएको खुलेको छ । छातीमा समस्या भएका अर्जुनधारा ३ निवासी ती बृद्ध शुरुमा उपचार गराउन बिर्तामोडको संजीवनी हस्पिटल गएका थिए । त्यसपछि एक्सरे गराउन मनमोहन मेमोरियल हस्पिटल र त्यसपछि रगत तान्न बिएण्डसी हस्पिटल गएका थिए । त्यसपश्चात् उनी भद्रपुरस्थित मेची अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा सुधार नभएपछि मेची अस्पतालले धरान रेफर गरेको अर्जुनधारा वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीले बताए ।उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ती ब्यक्तिको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित ब्यक्ति संजीवनीमा ४ दिन बसेको बताइएको छ ।उनमा कोरोना संक्रमण पुष्टि भएपछि सम्बन्धित वडा कार्यालयले एक सूचना जारी गर्दै कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट नआउञ्जेल ३ नं वडा सिल गरेको छ । त्यस्तै, वडा कार्यालयबाट हुने सम्पूर्ण कामकारबाही बन्द गरिएको छ । ती संक्रमितको नजिकको सम्पर्कमा आएका ९ जनाको हिजो नै पिसिआर परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए ।उनले संक्रमितको उपचार गराएका अस्पताललाई स्वास्थ्य सावधानी अपनाउन भनिसकेको जानकारी दिए । त्यस्तै दमक नगरपालिका वडा नं ५ का एक भेन चालकलाई पनि संक्रमण देखिएको छ । ४२ वर्षिय ती भेन चालकको धरानमा उपचारका क्रममा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । आज ३ जना थपिएसँगै झापामा संक्रमितको सँख्या ८४७ पुगेको छ । त्यसमध्ये ७७४ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्