राजगढ , असोज १२ । बाह्रदशी गाउँपालिका १ का ललित राजवंशीको भतिजाको मृत्युपछि मृतकको अन्त्येष्टि र काजक्रिया गर्न समस्या थियो । किनकि उनको भतिजाको उपचारमा बिर्तामोडको बिएण्डसी हस्पिटलमा निकै खर्च भइसकेको थियो । त्यस्तो अप्ठ्यारो बेलामा वडा कार्यालयले दिएको नगद सहयोगबाट राजवंशी परिवारले ठूलो राहत महसुस गरे ।

मृतक परिवारलाई सहयोग गर्दै वडा सदस्य उल्फो माझी

आर्थिक अभाव भएर अन्त्येष्टि र काजक्रिया गर्न नसकिरहेका परिवारलाई बाह्रदशी गाउँपालिकाको १ नं.वडा कार्यालयले राहत दिने गरेको छ । ‘तपाईको दुःखमा हामी छौ साथमा’ भन्ने कार्यक्रम गरेर वडा कार्यालयले धेरैलाई दुखमा साथ दिएको हो । वडा कार्यालयले वडाभित्र मरिमराउ भएमा प्रतिपरिवार १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउने गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७७—७८ मा त्यस कार्यक्रमका लागि दुई लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । त्यस बजेटले नपुगे थप्न सकिने वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । आर्थिक अभाव भएर मरिमराउमा आफ्नो परम्परा गर्न नसकिरहेको निम्न वर्गीय परिवारको अबस्थालाई मनन गरी मानवीय संवेदनास्वरुप वडा कार्यालयले सो कार्यक्रम ल्याएको उनले बताए । चालु आर्थिक वर्षमा वडाभित्रका तीन परिवारलाई सहयोग गरिसकेको वडाध्यक्ष राजवंशीले जानकारी दिए ।

मरिमराउमा सान्त्वना दिदै वडा अध्यक्ष शम्भुसिंह राजवंशी

बाह्रदशी गाउँपालिकाभरि १ नं वडा कार्यालयले पहिलोपटक त्यस किसिमको कार्यक्रम संचालन गरेको हो । मरिमराउमा राहतको आबश्यकता ठानेर अन्य वडामा पनि त्यस्तो कार्यक्रम गर्न लागिएको छ । आफ्नो भतिजाको मृत्युपछि पैसा नभएको अबस्थामा वडा कार्यालयको सहयोगले ठूलो राहत मिलेको ललितले बताए । ‘ त्यस रकमबाट तीन सिनानमा सहयोग पुग्यो ’ उनले भने । बाह्रदशी १ मा अधिकांश विपन्न अबस्थाका आदिबासी , जनजाति, पिछडिएका वर्ग र मुस्लिम समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्