झापा, असोज १२ । प्रदेश– १का धेरै विद्यालय लकडाउनयता बन्द छन् । निषेधाज्ञाको लामो श्रृंखलाको अन्त्य भएसँगै कतिपयले कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । कहिले भौतिक दूरीसहित कक्षा सञ्चालन गर्न थालेका छन् । तर, धेरै विद्यालयका गेट अझै बन्दै छन् । कतिपय शिक्षकले घरघर पुगेर विद्यार्थीलाई गृहकार्य दिने कार्यक्रमसमेत सञ्चालन गर्न थालेका छन् ।


सहरी क्षेत्रका निजी विद्यालयले अनलाइन प्रविधि अपनाएर कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालय खुल्न सकेका छैनन् । संघीय शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय सञ्चालनको तयारी गरेका छन् ।
झापाको धुलाबारी उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र बिवलास लुइँटेल विद्यार्थीलाई एक महिनासम्म गृहकार्य दिने तर त्यसलाई परीक्षण गर्नेबाहेक विद्यालय नै चलाउन सक्ने अवस्था नरहेको बताउँछन् । भन्छन्, ‘होमवर्क दिइएको छ । तर, नियमित पढाउन सक्ने अवस्था छैन । धेरै संख्या भएका विद्यालयलाई त ठूलो चुनौती छ ।’


धुलाबारी माविका सहप्रधानाध्यापक तेजप्रसाद चौलागाईं सुविधा सम्पन्न सहरका विद्यालय र गाउँका विद्यालय फरक दृश्य देखिएको बताउँछन् । ‘गाउँका धेरै विद्यार्थी त्यसै फुर्सदिला भएका छन् भने एकखाले विद्यार्थी ल्यापटक र मोबाइलमा पढाइलाई निरन्तरता दिइएको छ’ उनले भने, ‘नानीहरूका लागि बाध्यताका लागि भए पनि पढाउनैपर्ने अवस्था छ । वैकल्पिक शिक्षा सरकारी तवरबाट ल्याउने काम सुरु भएको छ । खाली समस्या कार्यान्वयनमा छ ।’ कोरोना महामारीबीच गाडी, जन्ती, मलामी सबैतिर मानिसहरू आउजाउ गर्न खुला भएको अवस्थामा विद्यालय लगाउँदै कोरोना लागि हाल्छ र सबै बिग्रन्छ भन्ने सोचाइ गलत भएको बताए । उनले भने, ‘संघीय शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण गरेर अघि बढ भनेर निर्देशन आउँछ तर गृह मन्त्रालयबाट खबरदार विद्यालय लगाउलास् भन्छ । निर्देशनको पनि एकद्वार प्रणाली हुनुपर्छ । विद्यार्थीको चापलाई हेरेर क्रमशः विद्यालय खोल्दै जानुपर्छ । वैकल्पिक उपायका लागि कम्तिका सरकारले इन्टरनेट डाटा फ्री गरिदिनुपर्छ ।’

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले दमक नगरपालिकाले विद्यालयमा कक्षा सञ्चालन गर्न सूचना जारी गरिसकेको जानकारी दिइन् । असोज १ बाट कक्षा सञ्चालन गर्ने विषयमा नगरपालिकाले पहल थालेको थियो । भनिन्, ‘अन्तर्क्रिरया गरेरै गरेको हो । अवसरका रुपमा प्रयोग गर्न खोजिएको छ । जुममा पनि कक्षा चलाउने प्रयास गरिएको छ । शिक्षक विद्यार्थीलाई पनि त्यसमा जोडिएको छ । सामुदायिक विद्यालयका अभिभावकले पनि यसलाई अवसरका रुपमा लिएका छन् ।’ उनले अनलाइन कक्षा सञ्चालनको सम्भावना हेरेर आफ्ना विद्यार्थी को–को हुन् भनेर सूचीकृत गर्न विद्यालयलाई निर्देशन दिइएको बताइन् ।दमक नगरपालिकाले टोल–टोलमा जाने, एक–एक दिनमा एक कक्षा चलाउने, अभिभावकको संरक्षकत्वमा अगाडि बढ्न विद्यालयलाई उपाय सुझाएको छ । अधिकारीले एक वर्षभित्रमा स्वास्थ्यको सबै मापदण्ड अपनाएर स्थानीय तह के हो भन्ने विद्यार्थीलाई बुझाउने पनि प्रयास हुने सुनाइन् ।


नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश –१ सचिव रघुनाथ मिश्रले कोभिडले शिक्षा क्षेत्र नराम्रोसँग प्रताडित भएको बताउँछन् । उनले भने, ‘बस कुदे तर विद्यालय बन्द छन् । शिक्षालाई अगाडि बढाउने सन्दर्भमा राज्यबाट ठोस कुरा आउनुपर्छ । सिकाइ सहजीकरण निर्देशिका आयो केही विद्यालय खुले तर सरकारकै अर्को निकायले फरक निर्देशन दिन्छ ।’ उनले इलामको चुलाचुली गाउँपालिकामा कोरोना संक्रमण नै नरहेकाले हिजोबाट विद्यालय खोलेको र आलोपालो गरेर विस्तारै खोल्नुपर्ने र राज्यको निर्देशनमा एकरुपता हुनुपर्ने बताए ।


प्रदेश –१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ठाउँ र विद्यालयपिच्छेको अवस्था फरक हुने भएकाले सोहीअनुरुप कक्षा चलाउने योजना बनाउनुपर्ने बताए । उनले भने, ‘एउटै सूत्रमा यसरी विद्यालय सञ्चालन गर्नुस् भनेर निर्देशन दिन सकिँदैन । स्थानीय आवश्यकता र अवस्था हेरेर पालिकाले अवस्था हेरी सञ्चालन गर्न सकिन्छ । व्यवहारिक र वस्तुवादी रुपमा मात्र कक्षा चलाउन सक्ने अवस्था छ ।’ मन्त्री घिमिरेले कोरोना हिजो सामान्य अवस्था थियो तर अहिले सबै जनजीवन सामान्य हुँदै जाँदा संक्रमित बढ्न थालेको बताए । ‘हामी अब सबै कुरा सामान्य बनाउने भन्दै छौं । शिक्षालयबाहेक सबै क्रियाकलाप खुलिसको छ तर कोरोनाको अनुपात दिन दुई गुणा रात चौगुना बढ्दै छ’ मन्त्री घिमिरेले भने, ‘खुला बोर्डर छ । भारतमा पूर्ण नियन्त्रण नहुन्जेल हामी जोखिममा रहिरहन्छौ । हामीले जोर–बिजोर र स्थानीय अवस्था हेरेर विद्यालय खोल्ने वातावरण बनाउनुपर्छ ।’ शिक्षा पत्रकार समूह प्रदेश –१ ले विद्यालय सञ्चालनको अभ्यास र सम्भावनाको विषयमा सोमबार आयोजना गरेको भर्चुअल अन्तरसंवादमा मन्त्री घिमिरेले स्थानीय तहले गर्ने निर्णयमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्