गौरादह , असोज १३ । झापाको गौरादह नगरपालिकामा हत्या गरिएकी बृद्धाको निधार र टाउकोमा चोट देखिएको छ ।
हथौडाले उनको टाउकोमा हानेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको लाश घरभित्रको खाटमुनि दुवै हात पछाडि बाँधिएको अबस्थामा हिजो बेलुका फेला परेको थियो । हात बाँधेर हत्या गरेको र त्यसपछि लाश खाटमुनि लुकाएको हुनसक्ने एक स्थानीयले बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले हिजो बेलुका धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाएपनि सफलता हात नलागेको बताए । घरमा एक्लै रहेको अवस्थामा बृद्धाको हत्या भएको मृतकका देवर खगेन्द्र भण्डारीले जानकारी दिए । घटना भएको दिन हिजो बिहान साढे ११ बजेतिर मात्र मृतक र उनका श्रीमान् भीम भण्डारी गौरादहस्थित घरमा आइपुगेका थिए । भण्डारी दम्पतीको पुरानो घर कमल गाउँपालिका १ ढ्याङग्री भन्ने स्थानमा रहेको छ । उनीहरु नातिनातिना पढाउनका लागि ५ वर्ष अघिदेखि गौरादहमा घर किनेर बसोबास गर्दै आएका थिए । कोरोनाका कारण विद्यालय बन्द भएपछि करिब ३ महिनादेखि उनीहरु ढ्याङग्रीस्थित घरमा बस्दै आएका थिए । घटनापछि प्रहरीले मृतकका श्रीमान् , उनका देवरलगायत परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । लाशलाई पोष्टमार्टमका लागि धरान पठाइएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् ।