बिर्तामोड, असोज, १३ । मोरङको उर्लाबारीमा एक होटल सञ्चालकको कुटपिटबाट ग्राहकको मृत्यु भएको छ । उर्लाबारी–७ मा युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय शुशिल मल्लिकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल सञ्चालन गर्ने तामाङले भारतको दार्जिलिङ घर भई उर्लाबारीमा बस्दै आएका शुशिलमाथि कुटपिट गरेका हुन् । मृतक सुनचाँदीका गहना बनाउने कालीगढ भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका मल्लिक श्रीमती कञ्चनसहित युनिक होटलमा आइतबार राति खाजा खान भनेर पुगेका थिए । त्यसक्रममा विवाद गर्दै मदिरा माग्न थालेपछि होटल सञ्चालकसँग झगडा भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि तामाङले कुटपिट गर्दै धकेलेर बाहिर निकाल्न खोज्दा लडेर मल्लिक बेहोस भएका मल्लिकको मृत्यु भएको हो ।


घटनामा टाउकोमा चोटका मल्लिकलाई उपचारका लागि उर्लाबारीको गोदवारी अस्पतालमा लगिएको थियो । गोदावरीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्पताल लगिएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि भारतको सिलिगुडी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीले कुटपिटमा संलग्न तामाङलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्