झापा , असोज १३ । झापामा आज दुई महिलासहित समुदायका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसक्रममा दमकमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत मंगलबार संकलन गरी पठाइएको ९६ जनाको नमुना स्वाबमध्ये तीन जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
यसरी संक्रमण देखिएकामा सुन व्यापारी, यातायात व्यवसायी र एकजना समुदायका रहेका छन् । संक्रमण पुष्टि हुनेमा ३७, ३८ र ४९ वर्षीय पुरुष हुन् । त्यस्तै दमक वडा नं ८ की ८२ वर्षिया बृद्धामा पनि संक्रमण देखिएको छ । उनी उपचारका लागि नोवेल हस्पिटल विराटनगर जाँदा कोरोना देखिएको हो । योसँगै दमकमा संक्रमित हुनेको संख्या १६४ पुगेकोे छ । संक्रमितमध्ये हालसम्म ९६ जना पुरुष र ४५ जना महिला गरी १४१ जना उपचारपछि घर फर्किएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य सचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिए । अहिले २२ जना सक्रिय संक्रमित रहेको र उनीहरुको विभिन्न कोभिड अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताएका छन् ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नं. ३ मा एक महिला र एक पुरुषमा संक्रमण देखिएको हो । श्रीमान्को उपचार गराउन धरान गएकी ६० वर्षिया महिलालाई संक्रमण पुष्टि भएको हो भने उनका ८१ वर्षका बुवालाई संक्रमण देखिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । त्यस्तै काठमाडौँ गएर झापा फर्किएका अर्जुनधारा ९ का ४५ वर्षिय व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले मेची अस्पताल भद्रपुरमा स्वाब संकलन गराएका थिए । त्यस्तै भद्रपुर नगरपालिकामा दुईजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु वडा न ५ र १० का ३० र ५० वर्षिय पुरुषहरु रहेकां छन् । ३० वर्षिय पुरुष असोज ३ गते झापा कारागारबाट कैद भुक्तान गरेर घर फर्किएका व्यक्ति हुन् भने ५० वर्षिय व्यक्ति मालपोत कार्यालयका कर्मचारी भएको जनाइएको छ । ८० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा दुईजनाको रिपोर्ट पोजिटिभ आएको भद्रपुर नगरपालिकाका क्वारेन्टाइन प्रमुख मनोज भट्टराईले बताए । योसँगै जिल्लामा संक्रमितहरुको सँख्या ८६० पुगेको छ । त्यसमध्ये ७८३ जना निको भएका छन् ।