झापा ,असोज १३ । अबैध रुपमा रुख काटेर अटेर गर्ने सुखानी शहीद स्मृति प्रतिष्ठान अर्जुनधारा ९ लाई वन कार्यालयले कडा कानुनी कार्वाही गर्ने चेतावनीसहितको तागेता पत्र पठाएको छ ।

असोज ६ गते पठाएको पहिलो पत्रको जवाफ प्रतिष्ठानले नदिएपछि कनकाई सव–डिभिजन कार्यालय सुरुङ्गाले अर्को तागेता पत्र पठाएको हो ।पहिलो पत्रमा सव–डिभिजन कार्यालयले वन कार्यालयको अनुमति नलिई के कुन प्रक्रियाले को कसले उक्त रुख काटेको हो भनेर यथाशिघ्र खुलाएर पठाउन प्रतिष्ठानलाई पत्र पठाएको थियो । सो पत्र प्रतिष्ठानका सहव्यवस्थापक योगेन्द्र रिजालले बुझेका थिए । तर, त्यस स्पष्टीकरण पत्रको जवाफ प्रतिष्ठानले एक सातासम्म नपठाएर अटेर गरेपछि सव–डिभिजन कार्यालयले हिजो अर्को पत्र काटेको हो । पत्रमा पहिलो पत्रलाई बेवास्ता गरिएको भन्दै अर्को तागेता पत्र पठाएको जनाइएको छ । पछिल्लो पत्रमा पहिलो पत्रलाई बेवास्ता गर्नुको कारणसहित तीनवटा सिसौंका रुखहरु के कुन व्यक्तिले काटेको र संचारमाध्यममा नमूना वनमा अबैधरुपमा भइरहेको वन फडानीका सम्बन्धमा प्रकाशित समाचारका विषयमा वास्तविकतासहित प्रतिष्ठानको धारणा पेस गर्न आदेश दिइएको छ । अन्यथा प्रचलित ऐनकानुन बमोजिम कार्वाही गर्ने कनकाई सव–डिभिजन कार्यालयका प्रमुख नथुनी गुह्यारी यादवद्वारा पठाइएको पत्रमा उल्लेख छ । कार्यालय प्रमुख यादवले प्रतिष्ठानले पहिलो पत्रको जवाफ नदिएर अटेर गरेपछि अर्को तागेता पत्र पठाइएको जानकारी दिए । प्रदेश सांसद वृख प्रधानको ‘संलग्नता’मा सुखानी शहीद स्मृति पार्कमा काटिएको रुखका बारेमा वन कार्यालयले कानुनी कार्वाही थालेको हो ।
सुखानी शहीद स्मृति प्रतिष्ठानको पार्कमा रहेका तीनवटा सिसौका रुखहरु असोज ५ गते गैरकानुनी रुपमा काटिएका थिए । विना अनुमति गैरकानुनी ढंगले रुख काटिएको घटनाका विषयमा वन कार्यालयले सुखानी शहीद स्मृति प्रतिष्ठानमाथि कार्वाही अगाडि बढाएको हो । डिभिजन वन कार्यालय भद्रपुरले कनकाई सव–डिभिजन कार्यालय सुरुङ्गाका प्रमुख यादवलाई जाँचबुझ गर्न आदेश दिएको छ । काटिएका तीनवटा रुखमध्ये एउटालाई गोलिया पारेर प्रतिष्ठानमा लगेको र अरु दुईवटा काटेर फिल्डमै राखेको अबस्थामा आफूहरुले ती काठ फेला पारेको बताउँदै यादवले काटिएका काठको परिमाण ४४.६ क्यूफिट रहेको जनाए । बरामद गरिएका काठ प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीको जिम्मामा छोडिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्