झापा , असोज १४ । समुदायमा कोरोना संक्रमण तीब्ररुपमा फैलिने क्रममा आज झापामा तीन महिलासहित १० जना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी र कर्मचारी पनि रहेका छन् । बिर्तामोड नगरपालिकामा दुई स्वास्थ्यकर्मीसहित तीनजनालाई संक्रमण पुष्टि भएको छ । मनमोहन हस्पिटल बिर्तामोडका दुईजना महिला स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो । २१ र २३ वर्षका ती स्वास्थ्यकर्मीहरुलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै भारतबाट आएर कबाडी संकलनको काम गर्दै आएका बिर्तामोड ४ बस्ने ४४ वषर््िाय भारतीय नागरिकलाई पनि संक्रमण देखिएको उनले बताए ।
त्यस्तै भद्रपुर बजारका दुई जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ बस्ने २८ वर्षीय पुरुष र २८ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।
संक्रमित पुरुष र महिला नातामा श्रीमान् श्रीमती हुन् । केही दिनअघि श्रीमानलाई ज्वरो आएपछि दुवै जना पिसिआर परीक्षणका लागि मेची अस्पताल भद्रपुर गएका थिए । आज आएको पिसिआर रिपोर्टमा दुई जनामा पोजेटिभ देखिएको फोकल पर्सन भट्टराईले बताए । घरका सदस्यलाई कोरोना पुष्टि भएपछि घर अगाडीको पसल बन्द गराइएको छ भने घरका अन्य सदस्यको पनि कोरोना परीक्षण गराइने नगरपालिकाले जनाएको छ । संक्रमित पुरुषको बिर्तामोडमा पनि पसल छ । त्यस्तै मेचीनगर नगरपालिका वडा नं १० र १३ का ३९ र ४० वर्षिय दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट फर्केको जनाइएको छ । त्यस्तै झापा गाउँपालिका वडा नं २ ठेगाना भई विराटनगरको एक सरकारी कार्यालयमा कार्यरत ४६ वर्षिय कर्मचारीलाई संक्रमण देखिएको छ । उनी विराटनगरमै विरामी भएको जनाइएको छ । त्यस्तै कचनकवल गाउँपालिका वडा नं ७ का ३५ वर्षिय र गौरादह नगरपालिका वडा नं ७ का २२ वर्षिय पुरुषहरुमा पनि कोरोना देखिएको छ । गौरादहका ती युवकले टेकु काठमाडौंमा पिसिआर परीक्षण गराएका थिए । योसँगै जिल्लामा कोरोना संक्रमितहरुको सँख्या ८७० पुगेको छ । जसमध्ये ७८४ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्